८८ बर्षिया बृद्धाले होम आईसोलेसन बसेरै जित्नुभयो कोरोना

  • ३२ श्रावण २०७८, सोमबार
  • 746 पटक पढिएको

म्याग्दी ३२ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत निवासी ८८ बर्षिया बृद्धा जसी पाईजा पुनले होम आईसोलेसनबाटै कोरोना जित्नुभएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले गरेको एन्टीजेन परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य भएपछि पुन होम आईसोलेनमै बस्नुभएको थियो ।


टाउको दुख्ने लगायतका सामान्य लक्षण देखिएकाले घरमै आईसोलेसन राखेर झोलिलो खानेकुरा र स्वास्थ्यकर्मीले उपलब्ध गराएको औषधी खुवाएको र ११ औँ दिनमा कोरोना जितेर उहाँ आईसोलेसनमुक्त हुनुभएको पुनका छोरा लोकबहादुर पुनले बताउनुभयो । ‘‘स्वास्थ्यमा जटिलता आएन, स्वास्थ्यचौकी र अस्पताल सम्म पुग्न परेन, घरमै बसेर आमाले कोरोना जित्नुभयो’’–पुनले भन्नुभयो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवालका अनुसार, अन्नपूर्णमा अहिले जम्मा ४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । गाउँपालिकाभित्रमा अहिलेसम्म ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित विरामीको उपचारको लागि गत वैशाखदेखि गाउँपालिकाले वडा नम्बर ४ नारच्याङमा अस्थायी कोरोना अस्पताल सञ्चालन गरेर संक्रमितको उपचार गर्दै आएकोमा सोमबार पहिलो पटक अस्पतालमा विरामी भर्नाको संख्या शुन्य भएको स्वास्थ्य संयोजक बरुवालले जानकारी दिनुभयो । अस्पतालमा भर्ना भएका संक्रमित निको भएर घर फर्किएको र अन्य संक्रमितमा जटिल समस्या नभएर होम आईसोलेसनमा रहेकाले अस्पताल भर्ना गर्न नपरेको जनाईएको छ ।