मुक्तिनाथ बहुउदेश्यीय सहकारीको सेवा केन्द्र सुभारम्भ

  • ३१ श्रावण २०७८, आईतवार
  • 776 पटक पढिएको

मौवाफाँट ३१ साउन । म्याग्दी सदरमुकाम बेनीबाट सञ्चालित मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र विस्तार गरेको छ । सहकारीको सेवालाई स्थानीय तहहरुमा विस्तार गर्ने योजना अन्तर्गत मौवाफाँटमा पहिलो सेवा केन्द्र विस्तार गरिएको सहकारीले जनाएको छ ।


बचत तथा ऋणको कारोबार संगै अन्य आधुनिक वित्तिय सेवा समेत उपलब्ध गराउने गरि सेवा केन्द्र सुभारम्भ गरिएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार, यस सहकारीले म्याग्दीको मंगला र पर्वतको जलजला गाउँपालिकामा समेत सेवाकेन्द्र सञ्चालन गर्ने तयारी गरेको छ ।


बेनीमा रहेको न्यु नीलगिरी बचत तथा ऋण सहकारी र घतान बचत तथा ऋण सहकारी संस्था समेत मुक्तिनाथ सहकारीसंग एकिकृत भएर कारोवार सुरु गरेका छन् । सहकारीहरुबिच एकिकरण भएर एकिकृत कारोवार संगै सेवा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर अघि बढेको जनाईएको छ ।


मौवाफाँटमा सेवा केन्द्रको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले ग्रामीण शहर उन्मुख बनेको मौवाफाँटमा सहकारीको सेवा केन्द्र विस्तार हुँदा स्थानीय स्तरमा वित्तिय पहूँच बढ्ने बताउनुभयो । उहाँले राज्यको तीनखम्बे अर्थनीति अनुसार, सहकारीले स्थानीय स्तरमा पुँजीको संकलन र ऋणको लगानी संगै राष्ट्रिय स्तरमै पुँजीको विकास गर्न महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले उद्यमशिलता र उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर रोजगार सिर्जना हुने क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । कुल १ हजार २५० जना शेयर सदस्य रहेको यस सहकारीमा ८ करोड ५ लाख शेयर पुँजी रहेको छ ।


गत आर्थिक बर्ष २०७७÷०७८ मा ४२ करोड ४५ लाख ६१ हजार बचत संकलन गरेको यस सहकारीले रु ४३ करोड २७ लाख ८४ हजार लगानी र ५३ करोड ५० लाख ५१ हजार कारोवार गरेको जनाएको छ । सहकारीका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक शेयर सदस्य दवी केसी, सल्लाहकार कोषानान्द आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो भने सहकारीका डण्डपानी सापकोटाको स्वागत र जयराम सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।