म्याग्दीका निराजन जावलाखेल क्लबमा अनुबन्धित

  • २९ श्रावण २०७८, शुक्रबार
  • 1806 पटक पढिएको

म्याग्दी २९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका १७ बर्षिय फुटवल खेलाडी निराजन खत्री नेपालको चर्चित फुटवल क्लब जावलाखेल युथ क्लबमा अनुबन्धित भएका छन् । सानै उमेरदेखि फुटवल खेलमा पहिचान स्थापित गरेका खत्री दुई बर्षका लागि ए डिभिजनको क्लब जावलाखेल क्लबमा आबद्ध भएका हुन् ।

एन्फा एकेडेमि बुटवलमा रहेर विगत ४ बर्षदेखि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगीताहरुमा मिड फिल्डरको रुपमा सहभागी भएर उत्कृष्ट खेल कौसल देखाउँदै आएका छन् । खत्रीले जापानमा भएको यू–१२ च्याम्पियनसिप, भारतमा भएको यू–१५ साफ च्याम्पियनसिप, जोर्डनमा भएको यू–१६ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टीमबाट भाग लिइसकेका छन् ।

भारतमा भएकोे यू–१५ साफ च्याम्पियनसिपको प्रतियोगिता अवधिमा २ गोल गर्न सफल भएका खत्रीले जापानमा भएको यू–१२ च्याम्पियनसिपमा प्रतियोगिता अवधिभर १० गोल गर्दै नेपाली टोलीबाट सर्वाधिक गोलकर्ता बनेका थिए । सानैदेखि फुटवलमा रुचि राख्ने खत्री मोफसलबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म आफ्नो खेल प्रतिभा पदर्शन गर्न सफल भएका छन् । राष्ट्रिय स्तरका प्रतियोगिता संगै अन्तराष्ट्रिय मैदानमा भाग लिएको अनुभवलाई थप निखार ल्याएर जावलाखेल क्लबबाट भाग लिने प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्न प्रयासरत रहने खत्रीको योजना छ ।