लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

  • २७ श्रावण २०७८, बुधबार
  • 1057 पटक पढिएको

२७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने कार्यसूची छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन बोलाइएको छ ।

मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए । सरकारको समर्थनमा नेकपा ९एमाले०का ३९ प्रदेशसभा सदस्य छन् । अविश्वासको प्रस्ताव यही साउन १९ गते प्रदेशसभामा दर्ता भएको थियो । यसअघि विपक्षी गठबन्धनले गत वैशाख ६ र वैशाख २६ गते सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

यता, लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासमा पेशी चढेको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ ।न्यायाधीश भट्टराईको इजलासमा उक्त रिट निवेदन आठौँ नम्बरको पेसी सूचीमा छ ।

यसैबिच, लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो । बैठकमा सत्ता पक्षका सांसद उपस्थित छैनन् । बैठकमा अविश्वास प्रस्ताव पेस गर्दै प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्ता पक्ष अनुपस्थित नहुनु अनौठो भएको बताए ।

आफूहरुले पटक(पटक मुख्यमन्त्रीलाई ‘तपाई अल्पमतमा हुनुहुन्छ, विश्वासको मत लिएर देखाउनुस्’ भनेर आग्रह गरेको तर अटेर गर्दै वैशाख यता संविधान र कानुनको ठाडो उल्लंघन गरेर सरकारको नेतृत्व गर्दै आएको उनले बताए । मुख्यमन्त्री पोखरेलले केहीबेरअघि राजीनामा दिएको भए पनि प्रदेशसभामा पत्र नआइसकेका कारण प्रदेशसभाको पूर्वनिर्धारित बैठक सुरु भएको हो ।