५ सय ब्यावसायिक उद्योग थपिए

  • २३ श्रावण २०७८, शनिबार
  • धिरन खत्री
  • 664 पटक पढिएको

 

म्याग्दी, २३ साउन । म्याग्दीमा पछिल्लो एक बर्षमा ५ सय ८ घरेलु तथा साना उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा कृषि, पशुपन्छी, सेवामूलक क्षेत्रमा आकर्षित हुदै उद्योग दर्ता गर्ने संख्या बढेको कार्यालयले जनाएको छ। यस आर्थिक वर्षमा ५०८ उद्योग दर्तासंगै बाणिज्य फर्म द्द६५ दर्ता भएको कार्यालय प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।

बजार अनुगमनको प्रभाव र ब्यवसाय गर्नेहरु समेत सचेत र सुलभ बैकिङ्ग कर्जाले गर्दा उद्योग तथा ब्यवसायीक फर्म दर्ता गर्ने संख्या बढेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । पछिल्लो समय कृषि, पशुपालन, वनपैदावार, होटल र सेवामुलक उद्योग दर्ता बढेको छ ।

उद्योग तथा वाणिज्य फर्म दर्ता र नविकरण वापत २९ लाख ९ हजार ५२३ रुपैया राजश्व संकलन भएको छ । उद्योग दर्ताबाट १४ लाख ९८ हजार १२३ रुपैयाँ र वाणिज्यतर्फबाट १३ लाख ५५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको कार्यालयका तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाले बताए । दर्ता शुल्क घटेपछि फर्म दर्ता संख्या बढेका छन् भने राजश्व कम संकलन भएको कार्यालय प्रमुख पौडेलले जानकारी गराए ।

गत आर्थिक बर्षदेखि राजश्व शुल्क दर घटेपछि उद्योगतर्फ १ लाख देखि १० लाखसम्म ११ सय रुपैया छ भने महिलालाई ५० प्रतिशत छुटसंगै ६ सयमा फर्म दर्ता गर्दै आएका छन् । त्यस्तै १० लाख देखि ५० लाखसम्म ५ हजार १ सयमा उद्योग दर्ता गरेका छन् । भने महिलाका लागि फर्म दर्ता गर्नका लागि २ हजार ६ सय रुपैया रहेको छ । पछिल्लो समय जिल्लामा महिलाहरु उद्योग तथा बार्णिज्य फर्म दर्ता गर्ने संख्या बढेको कार्यालय प्रमुख पौडेलले बताए । गत आर्थिक बर्षमा ५–५ वटा उद्यम विकास र सीप विकास तालिम गरेको कार्यालयले जनाएको छ।

आर्थिक बर्ष ०७६/०७७ मा उद्योग दर्ता १८९, वाणिज्य दर्ता २६३ भएको थियो भने ३५ लाख २२ हजार ८२५ रुपैयाँ राजश्व संकलन भएको थियो । हालसम्म जिल्लामा उद्योगतर्फ २ हजार २३२ र बाणिज्यतर्फ २ हजार ३२३ फर्म दर्ता रहेको कार्यालयले जनाएको छ। बिमा, बैङ्क कर्जा र अनुदान सुबिधाका लागि ब्यवसाय दर्ता भएको हुनुपर्ने नीतिगत व्यवस्था छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l