म्याग्दीमा भुकम्पले प्रभावित १०५ वटा विद्यालयको भवन पुर्ननिर्माण

  • २१ श्रावण २०७८, बिहीबार
  • धिरन खत्री
  • 693 पटक पढिएको

म्याग्दी, २१ साउन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दी मार्फत विद्यालयतर्फको भवन, शौचालय र खानेपानी लगायतको पूर्वाधार निर्माणले विद्यालयको संरचनाको स्वरुप फेरिदै गएको छ । विद्यार्थीको अध्ययनका लागि सुरक्षित विद्यालय निर्माणमा म्याग्दीमा तिव्रता पाएको छ । भूकम्प प्रतिरोधी क्षमताका भवन लगायतका पुर्वाधार निर्माण अभियान अन्तर्गगत हालसम्म १०५ वटा विद्यालयको भवन पुननिर्माण गरिएको छ । आयोजना कार्यालय (शिक्षा) ईकाइले २०७३ सालदेखि हालसम्म भूकम्पले जिर्ण बनेका र भत्किएका विद्यालयको भवन पुर्ननिर्माण गर्दै पठनपाठनमा जोखिम न्युनिकरण गरेको छ ।


आर्थिक वर्ष २०७३/७४ देखि विद्यालय भवन पुननिर्माण सुरु भए देखि ०७७/०७८ सम्ममा दुइकोठे ३२ वटा, ३ कोठे १२ वटा र ४ कोठे ६१ वटा गरी कुल १०५ वटा विद्यालयको भवन पुर्ननिर्माण भएको ईकाई प्रमुख तुलराज चौलागाईले जानकारी दिनुभयो । कार्यालयका अनुसार हालसम्म शौचालय ५० वटा र खानेपानी तर्फ २७ वटा योजना निर्माण सम्पन्न भएको छ ।

गत आर्थिक बर्ष ०७७/०७८ मा विद्यालय तर्फमा १०७ वटा योजनामध्ये ८३ योजनाको पुर्ननिर्माण सम्पन्न भएको छ भने २४ निर्माणधिन अवस्थामा बाकी रहेको ईकाई प्रमुख चौलागाईले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा ५० भवनमध्ये ३३ वटा, ३० वटा शौचालयमध्ये २५ सम्पन्न, २७ वटा खानेपानी आयोजनामध्ये २५ सम्पन्न भएको इकाईले जनाएको छ । कार्यालयका अनुसार २ कोठे भवन ८ वटा, ३ कोठे भवन १ वटा, ४ कोठे २४ वटा भवन निर्माण सम्पन्न भएको थियो । त्यस्तै शौचालय १६ वटा, खानेपानी १९ वटा सम्पन्न भएको थियो । १७ वटा भवन, २ खानेपानी र ५ वटा शौचालय निर्माण बाकी रहेको कार्यालयले जानकारी दिएको छ।

विद्यालयको भवन, शौचालय र खानेपानी निर्माण लागि आएको कुल २६ करोड १९ लाख ५१ हजार ९६२ रुपैयाँ बजेट मध्ये २४ करोड ८८ लाख ४३ हजार ८९२ रुपैया बजेट खर्च भएको छ । धवलागिरि गाउँपालिका –३ मा रहेको धनजनता माविका प्रअ पुर्णबहादुर भण्डारीले जिर्ण पुर्वाधार हटाएर चार कोठे दुईवटा भवन निर्माणले विद्यालयको पठनपाठन सहज भएको बताउनुभयो । उहाँले पुर्ननिर्माण कार्यालयबाट प्राप्त बजेटलाई विद्यालय ब्यवस्थापन समिति र प्रअको सक्रियतामा भौतिक संरचना सुरक्षित, सुविधायुक्त, वाताबरणमैत्री र अपाङ्गमैत्री बनाईएको जानकारी दिनुभयो । पछिल्लो समय मुक्तिधाम मावि राखु भगवती, गलेश्वर मावि तोरीपानी, हेम मावि शिवाङ लगायतका विद्यालयको जिर्ण संरचना हटाएर नयाँ संरचना निर्माणले विद्यालयको स्वरुप नै फेरिएको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l