मुस्ताङ र मनाङका शतप्रतिशत नागरिकले लगाए कोरोना खोप

  • १९ श्रावण २०७८, मंगलवार
  • 595 पटक पढिएको

सुन्दरकुमार थकाली
मुस्ताङ १९ साउन । जोमसोम स् भौगोलिक रुपले अत्यन्तै विकट गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ र मुस्ताङका सबै नागरिक अन्ततः खोपको पहुँचमा जोडिएका छन् । प्रदेशकै सबैभन्दा न्यून जनसंख्या रहेको मनाङ र मुस्ताङका सबै स्थानीय तहका शतप्रतिशत नागरिकलाई खोप लगाउने कार्य पूरा भइसकेको मनाङ र मुस्ताङका स्वास्थ्य कार्यालयले जनाएका छन् ।

हिमाली जिल्ला मनाङ र मुस्ताङमा एकैसाथ माघ १४ गतेदेखि कोरोना बिरुद्धको खोप अभियान सुरु गरिएको थियो । कोरोना बिरुद्धको कोभिशिल्ड खोप अभियान सुरु गर्दा त्यससमय खासै कठिनाई र चुनौती व्यवहोर्न नपरेपनि पछिल्लो समय अमेरिकन जोन्सन एण्ड जोन्सन ,भरोसिल र कोभिशिल्डको दोश्रो डोज खोप अभियानमा भने यी दुई जिल्लाले निकै कठिनाई भोग्नु पर्‍यो ।

बर्खायामको मौसममा आएको बाढी,पहिरो र नदी कटानले सडक अवरुद्ध हुँने ,सडक पुल बगाउने ,बिद्युत र खानेपानी सेवा अवरुद्ध लगायतका कारण खोप ढुवानी गर्नमा यी दुई जिल्लालाई असहजता उत्पन्न भएको थियो । तथापी प्रतिकुल मौसम र भौगोलिक कठिनाईका बाबजुद यी दुई जिल्लाले आफ्ना नागरिकलाई श्रावणको दोश्रो साताभित्र खोप लगाउने काम शतप्रतिशत पूरा गरेको बताएका छन् ।

दुर्गम जिल्लाको रुपमा परिचित मुस्ताङमा कुल ९ हजार ५ सय ८ जना नागरिकले तीन प्रकारको कोरोना बिरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले उल्लेख गरेको छ । कार्यालयका अनुसार कोरोना बिरुद्ध जोन्सन एण्ड जोन्सन खोप लगाउनेको संख्या ६ हजार ७ सय १५ रहेको छ भने कोरोना बिरुद्ध पहिलो चरण र दोश्रो चरण गरी २ हजार ४ सय ७२ जनाले पहिलो र दोश्रो डोज लगाइसकेका छन् ।

यस्तै, भेरोसिल खोपको पहिलो र दोश्रो डोज खोप लगाउनेको संख्या ३ सय ३२ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जिल्लाका शतप्रतिशत नागरिकले खोप लगाइसकेको जानकारी दिए । मुस्ताङमा जिल्ला बाहिरबाट रोजगारको शिलशिलामा आएका नागरिकलाई समेत खोप लगाइएको हो भने जिल्ला बाहिर रहेका केही केही स्थानीय नागरिक छुटफुट भएको हुनसक्ने उनको भनाइ छ ।

हिमाली जिल्ला मुस्ताङमा कुल जनसंख्या १३ हजार रहेपनि १८ वर्ष भन्दा माथिका नागरिकको संख्या ९ हजार ३ सय ६० रहेको छ ।तर ,स्वास्थ्य कार्यालयले बितरण गरेको खोपको तथ्यांक सो भन्दा माथि रहेकाले सबै नागरिकले कोरोना बिरुद्धको खोप प्राप्त गरिसकेको स्वास्थ्य प्रमुख भण्डारीको दावी छ । मुस्ताङमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,एम्बुलेन्स चालक,सरसफाईकर्मी,कर्मचारी,जनप्रतिनिधि,पत्रकार ,संघसंस्था ,शिक्षक लगायतलाई खोपको लगाईसकिएको जनाइएको छ ।

यस्तै ,हिमाली जिल्ला मनाङले जिल्लाका सबै नागरिकलाई खोप लगाउन सफल भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । मनाङले जिल्लाका ४ हजार १ सय ९८ जना नागरिकलाई खोप लगाइसकेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार मनाङमा स्थानीय तहका २८ वटै वडाको खोप केन्द्रबाट १८ वर्षदेखि माथिका नागरिकलाई खोप लगाउने काम सम्पन्न गरेको छ भने मनाङमा १ सय ६५ जनाले कोभिशिल्डको दोश्रो डोज खोप लगाउन बाँकी रहेको उल्लेख गरेको छ ।मनाङले २ हजार ९६ जनालाई कोभिशिल्ड ,७५ जनालाई भेरोसिल र २ हजार २७ जनालाई जना नागरिकलाई अमेरिकन जोन्सन एण्ड जोन्सन खोप लगाएको बताएको छ ।

हिमाली जिल्ला मनाङमा गत जेठ १४ र असार १ गतेको बाढी पहिरो र नदी कटाले सडक अवरुद्ध हुँदा खोप ढुवानीमा निकै समस्या भोग्नु परेको थियो । मनाङका नागरिकलाई खोप लगाउन “हामी नेपाली संस्था’ र नेपाली सेनाको हेलिकोप्टर मार्फत मनाङमा खोप ढुवानीमा सहयोग गरेको थियो ।

यस्तै ,मुस्ताङमा बेनी(जोमसोम सडक अवरुद्ध हुँदा खोप ठाउँ÷ठाउँमा भरियालाई बोकाएर ढुवानी गरिएको थियो भने शाखा खोलाहरुमा ट्याक्टर मार्फत खोप क्रस गराईएको थियो । हिमाली जिल्ला मुस्ताङ र मनाङका सबै नागरिकलाई खोप लगाउने काम पूरा भएसँगै जिल्लामा स्थानीय स्तरको जनजिवन समेत क्रमशः सहज बन्दै जान थालेको बताईएको छ । खोप अभियान पूरा भएसँगै जिल्लाका कतिपय शैक्षिक संस्थामा भौतिकरुपमै कक्षा सञ्चालन हुन थालेको छ । Source Annapurna post