एभरग्रीन युवा क्लबद्धारा पुल सरसफाई

  • १९ श्रावण २०७८, मंगलवार
  • 1014 पटक पढिएको

म्याग्दी १९ साउन । म्याग्दी सदरमुकाम बेनी स्थित मोटरेवल पुलहरुमा थुप्रिएको हिलो माटो र फोहोर हटाईएको छ । बेनीमा रहेको एभरग्रीन युवा क्लबको अगुवाईमा क्लबका पदाधिकारी एवम् सदस्यहरुले सोमबार कालिपुलमा रहेको मोटरेवल पुल, हाँडेभिरमा रहेको बेलिब्रिजमा थुप्रिएको हिलो र माटो पन्छाएर सरसफाई गरेका हुन् ।


त्यसैगरि म्याग्दी कालिगण्डकी नदी मा वारपारका लागि प्रयोगमा रहेका झोलुङ्गे पुल परिसरमा रहेका फोहोर हटाएर सरसफाई समेत गरिएको छ । क्लबले हरेक बर्ष सरसफाई कार्यक्रम गर्दै आएको र यस बर्ष पनि पुलहरुमा जमेको हिलो माटो र फोहोर हटाउने काम गरिएको क्लबका उपाध्यक्ष असल केसीले बताउनुभयो ।

क्लबका करिब ५० जना युवाहरु परिचालन भएर सरसफाई गरेका थिए । करिब ४ घण्टा लगाएर पुलहरुको सरसफाई गरिएको क्लबका सदस्य सन्दिप शरेपुञ्जाले जानकारी दिनुभयो । पुलमा माटो जमेर पानीको ताल हुने र पुलबाट वारपार गर्ने सर्वसाधारण र सवारी साधनलाई वारपार गर्न समेत समस्या भएको थियो ।