कालीगण्डकीको अवैध दोहनमा प्रयोग भएका मेसिनलाई जरिबाना,बालुवा जफत गरिने (भिडियो सहित)

  • १४ श्रावण २०७८, बिहीबार
  • धिरन खत्री
  • 1189 पटक पढिएको

म्याग्दी १४ साउन । म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनीखोला लगायतका स्थानमा कालीगण्डकी नदीमा भएको अवैध दोहनमा परिचालन भएका मेसिन र सवारी साधनलाई जरिवाना तिराउने निर्णय भएको छ । यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खनन्का लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय केहि व्यक्तिहरुले स्काभेटर लगाएर दिनहुँ बालुवा निकाल्ने काम गरेका थिए ।

नदी किनारमा अवैध तवरले बालुवा उत्खनन् भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी अधिकारी गणेशबहादुर अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले अनुगमन गरि अवैध नदी दोहनमा प्रयोग भएको एक्साभेटर, टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनको चावी जिल्ला समन्वय समितिमा बुझाएपछि विहिवार जिससमा बसेको नदीजन्य तथा खानीजन्य जिल्ला अनुगमन समितिको बैठकले अवैध नदी दोहनमा परिचालन भएको मेसिन उपकरण र सवारी साधनलाई जरिवाना सहितको कारबाहिको लागि बेनी नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले अवैध नदी दोहन गर्ने डोजर र स्काभेटरलाई रु २५ हजार, टिपरलाई रु १५ हजार र ट्याक्टरलाई रु ५ हजारका दरले जरिवाना गर्ने र यस्तो कार्यमा पुनः दोहोरीएमा जरिवानालाई दोब्बरका दरले बढाउँदै लैजाने निर्णय समेत गरेको छ । समितिको कारबाही सिफारिस भए लगत्तै बेनी नगरपालिकाले योजना शाखा प्रमुख प्रकाश सुवेदीको नेतृत्वमा प्राविधिक, सुरक्षाकर्मी र जिससका प्रतिनिधि सम्मीलित बालुवा मुल्यांकन समिति गठन गरेको छ । गठीत समितिको प्रतिवेदनका आधारमा अवैध तवरले संकलन गरिएको बालुवालाई जफत गरि प्रतिस्पर्धा मार्फत लिलामी गर्ने प्रकृया अघि बढाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थलगत निरिक्षणको क्रममा ढोडेनीखोलामा नम्बर नभएकोे स्काभेटर एक वटा, ध १ त ५८० नम्बरको ट्याक्टर र आनन्द बगरमा ग १ क ४४५६ र ग १ क ४४५१ नम्बरको दुई वटा स्काभेटर मेसिनको चावी नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम कुमार राईका अनुसार, आनन्द बगरको बालुवा उत्खनन्मा प्रयोग भएका मेसिन उपकरणका चापी स्थानीय लालबहादुर थापा र हर्क बहादुर खत्रीबाट लिईएको थियो ।

बेनी नगरपालिकाले असार १ गतेदेखि नगरक्षेत्रमा रहेका म्याग्दी नदी र कालीगण्डकी नदीका बगरहरुबाट ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलन बन्द गराएको छ । अर्को व्यवस्था नगरेसम्मका लागि भनेर नदिजन्य पदार्थको उत्खनन र संकलनलाई रोक लगाईएको भएपनि नगरपालिकाको वडा नम्बर १ मा पर्ने कालीगण्डकी नदी किनारमा भने अवैध रुपमा बालुवा उत्खनन् गरि नदीको दोहन गरिएको हो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l