मुस्ताङको लोघेकर गाउँपालिका कोरोना बिरुद्ध पूर्ण खोप घोषणा

  • १२ श्रावण २०७८, मंगलवार
  • 725 पटक पढिएको

सुन्दरकुमार थकाली
जोमसोम १२ साउन । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई कोरोना बिरुद्ध पूर्ण खोप घोषणा गरिएको छ । योसंगै देशका ७ सय ५३ वटै स्थानीय तह मध्ये लोघेकर दामोदरकुण्ड गापा कोरोना बिरुद्ध पूर्ण खोप घोषणा गर्ने पहिलो बनेको छ । मुस्ताङमा कोरोना बिरुद्ध ५५ वर्षदेखि माथि उमेरका नागरिकले कोभिसिल र भेरोसिल खोप यसअघिनै लगाई सकेका थिए । यसका अलावा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी ,जनप्रतिनिधि,सरसफाईकर्मी र पत्रकारले समेत खोप लगाएका थिए ।
यसपटक स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागबाट आएको अमेरिकन जोन्सन एण्ड जोन्सन खोप गण्डकी प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्र मार्फत ६ हजार ५ सय डोज खोप मुस्ताङ आएको थियो ।जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गापालाई १२/१२ सय डोज ,लोमान्थाङलाई एक हजार ५० डोज र लोघेकर दामोदरकुण्ड गापालाई ९ सय डोज खोप उपलब्ध गराईएको थियो । कोरोना बिरुद्धको खोप लगाउन छुटेका तथा १८ वर्षदेखि ५४ वर्ष उमेरका नागरिकलाई मुस्ताङका ५ वटै स्थानीय तहले एकैसाथ कोरोना बिरुद्ध खोप लगाउन सुरु गरेका हुन् ।
जसअन्तर्गत भौगोलिक रुपले सबैभन्दा विकट र ठुलो तथा न्यून जनसंख्या भएको लोघेकर दामोदरकुण्ड गापाले आईतबारनै १८ वर्षदेखि माथिका आफ्ना सबै नागरिकलाई खोप प्रदान गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । कुल एक हजार ४ सय २० जनसंख्या रहेको लोघेकर दामोदरकुण्डमा सबै नागरिक खोपको पहुँचमा जोडिएको अध्यक्ष बिष्टको भनाई छ । मुस्ताङका स्थानीय तहले खोप लगाउन ३ दिन समय तालिका मिलाएपनि लोघेकर दामोदरकुण्डले आईतबारनै खोप लगाईसकेको छ । खोप कार्यक्रमका लागि पालिकामा कार्यरत १३ जना स्वास्थ्यकर्मी र १५ जना स्वंयसेवक एकैसाथ अलग-अलग खटाईएको थियो ।
पालिका अध्यक्ष आफै खटिएर सुरु गरिएको कोरोना बिरुद्धको खोप अभियानमा स्थानीय युवाक्लवका सदस्यहरुले स्वतस्फूर्त रुपमा सहयोग गरेका थिए । अध्यक्ष बिष्टले भने,“ हामीले १८ वर्ष भन्दा माथिका सबैलाई खोप प्रदान ग¥यौं । खोप संगसंगै कोरोना बिरुद्ध पूर्ण खोप पनि घोषणा ग¥यौं । खोप लगाएकालाई पनि स्वास्थ्य सर्तकता अपनाउ अनुरोध गरेका छौं ।’ लोघेकर दामोदरकुण्डमा आईतबार ७ सय ११ जनाले खोप लगाई सकेका छन् । जसमध्ये ३ सय ७९ जना पुरुष र ३ सय ३२ जना महिला छन् ।यस्तै अन्य पालिकामा भने खोप लगाउने कार्यक्रम जारी राखिएको छ ।