तपाईको मास्क खोई ?

  • ११ श्रावण २०७८, सोमबार
  • 715 पटक पढिएको

म्याग्दी ११ साउन । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रहरीले ‘तपाईको मास्क खोई ? ’ अभियान सञ्चालन गरेको छ । लकडाउन लुजडाउनमा रुपान्तरण भएपनि कोरोनाको जोखिम बढीरहेकाले जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीको संयुक्त पहलमा उक्त अभियान सञ्चालन गरिएको हो ।


सोमबार बेनी नगरपालिका–७ सामुदायिक चोकमा संयुक्त रुपमा परिचालन भएर सडक हुँदै मास्क प्रयोग नगरिकन आवत जावत गर्ने सर्वसाधारण र यात्रुहरुलाई सम्झाई बुझाई गर्ने र मास्क वितरण गर्ने काम गरिएको थियो । उक्त अवससरमा १५० थान मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

कोरोनाको संक्रमण दर बढ्दै गएकाले सर्वसाधारण संगै व्यवसायिहरुलाई समेत सामाजिक दुरी कायम र स्वास्थ्य मापदण्डको पालना गराउनुको साथै अनाबश्यक रुपमा हिडडुलर भिडभाडमा नजान अनुरोध गर्ने गरिएको उहाँले बताउनुभयो ।