बेनी–जोमसोम सडकमा दुई सातापछि सिधा सवारी सूचारु

  • ५ श्रावण २०७८, मंगलवार
  • 592 पटक पढिएको

म्याग्दी ५ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा दुई सातापछि सिधा सवारी सूचारु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका –३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर लगायतका स्थानमा पहिरोले अबरुद्ध बनेको सडकलाई निर्माण कम्पनीहरु परिचालन गरि पहिरो पन्छाएर सूचारु गराईको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राहुघाटमा गत असार २४ गतेदेखि सडकमाथिबाट खसेको पहिरोले सडक अबरुद्ध बनाएपछि सिधा सवारी हुन सकिरहेको थिएन् । रुप्से र काभ्रेभिरमा भने शनिवारदेखि सडक अबरुद्ध बनेको थियो । यहाँ पटक पटक पहिरो पन्छाएर सवारी सूचारु गराउने गरिएको भएपनि बर्षा हुँदासाथ पहिरो खस्ने समस्याले सवारी प्रभावित हुँदै आएको प्रहरीले जनाएको छ ।

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतीमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरि अबरुद्ध बनेको सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । ‘‘ लामो समयसम्म सडक अबरुद्ध भएपछि सर्वसाधारण र विरामीहरुले सास्ती व्यहोर्न बाध्य बने, निरन्तर ताकेता गरेर निर्माण कम्पनीलाई पहिरो हटाउन लगाएका छौँ, बर्षा हुँदासाथ सडकखण्डको ठाउँठाउँमा पहिरो खस्ने समस्या छ’’– प्रहरी निरिक्षक गुरुङले भन्नुभयो ।

सडकमा सिधा सवारी नहुँदा म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासी संगै मुस्ताङबासीले ठाउँ ठाउँमा सवारी साधन परिवर्तन गरि आवत जावत गर्न बाध्य भएका थिए । गलेश्वरमा पहिरोले लामो समयसम्म सडक अबरुद्ध बनाउँदा समेत कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले बेवास्ता गरेपछि प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा समेत लिएको थियो ।