पहिराेले पुरिने जोखिममा गलेश्वरपारिको राहुघाटबस्ती

  • ४ श्रावण २०७८, सोमबार
  • 669 पटक पढिएको

म्याग्दी, ४ साउन । रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापरबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो ।

वस्तीमाथिको पाखोमा जथाभावि सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारीको ३० घरपरिवार जोखिममा छ । बर्षात हुनेवित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थाकथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।


कमजोर भ–ूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल र नाली समयममा नवन्दा पूरै पाखो खस्न थालेको छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताए ।


गत वर्षदेखि बस्तीमाथिको जमीन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका कारण बस्ती जोखिममा छ । बेनीदेखि उत्तरी क्षेत्रको रघुगंगा, अन्नपुर्ण गाउँपालिका र मुस्ताङको सिधा यातायातलाई बगिरहने पहिरोले अवरोध बनाउदै आएको छ।