अवरुद्ध सडक खुलाउन वेवास्ता गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रहरी नियन्त्रणमा

  • १ श्रावण २०७८, शुक्रबार
  • 1070 पटक पढिएको

म्याग्दी १ साउन । म्याग्दीको रघुृगंगा गाउँपालिका–३ गलेश्वरमा पहिरोले अबरुद्ध सडक खुलाउने कार्यमा वेवास्ता गरेको भन्दै प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत राहुघाट स्थित गलेश्वर पुल पारी सडकमाथिबाट आएको पहिरोले अबरुद्ध भएको सडक खुलाउन उक्त खण्डको सडक निर्माणको जिम्मेवार प्राप्त निर्माण कम्पनी ओम कार्यश्वर कन्ट्रक्सनका इन्जीनियर र सुपर भाईजर गरि दुई जनालाई नियन्त्रणमा लिएर आबश्यक अनुसंधान प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङ्गले जानकारी दिनुभयो ।

‘‘ जनताले दुख पाइरहेका छन्, एम्बुलेन्स लगायतका अत्याबश्यक सवारी समेत वारपार गर्न सकिरहेको छैनन्, निर्माण कम्पनीले आफ्नो जिम्मेवारी पुरा नगरेपछि नियन्त्रणमा ल्याएका हौँ’’– प्रहरी निरिक्षक गुरुङ्गले भन्नुभयो ।

असार २४ गतेदेखि अबिरल बर्षाको कारण पहिरो, बाढी, हिलो र माटो थुप्रिएर अबरुद्ध बनेको सडक सूचारु गर्न निर्माण कम्पनीले उदासिन्ता देखाएकाले सचेत गराउन निर्माण कम्पनीका प्रतिनिधिलाई नियन्त्रणमा लिाईएको प्रहरीले जनाएको छ । नौ दिनदेखि सडक अबरुद्ध हुँदा म्याग्दी सदरमुकाम बेनीदेखि रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा हिमाल पारिको जिल्ला मुस्ताङ जाने सवारी साधनहरु सिधा सूचारु हुन सकेका छैनन् भने यात्रु र स्थानीयबासीले सास्ती व्यहोरेका छन् ।