व्यवस्थापन समिति र शिक्षकका बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना (भिडियो रिपोर्ट सहित )

  • ३१ असार २०७८, बिहीबार
  • 918 पटक पढिएको

बेनी ३१ असार । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माध्यमिक विद्यालयले शैक्षिक सुधारका लागि पहल थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थिलाई आकर्षित गर्न यस विद्यालयमा शैक्षिक सुधार, आधुनिक शिक्षण शिकाइको पहुँच विस्तार संगै विद्यालयका शिक्षक कर्मचारी र व्यवस्थापन समितिका परिवारका बालबालिकालाई सामुदायिक विद्यालयमै पठनपाठन गराउने अभियान थालिएको छ ।

रत्नेचौरमा दैनिक रुपमा छिमेकी जिल्ला बागलुङका नीजि शैक्षिक संस्थाहरुबाट आधा दर्जन बढी गाडीहरु विद्यार्थी लैजान आउने गरेको अबस्थालाई मध्यनजर गर्दै सामुदायिक विद्यालयको शिक्षाप्रति नै विश्वास दिलाएर विद्यार्थीहरुलाई स्थानीय विद्यालयमै पठनपाठन गराउनतर्फ प्रेरित गर्न अभियान नै चलाईएको विद्यालयका प्रअ भरत खत्रीले बताउनुभयो ।

 

 

उहाँका अनुसार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न कम्युटर शिक्षा सहित आधारभुत तहको ५ कक्षा सम्म अंग्रेजी माध्ययमबाट पठनपाठनको सुरुवात गरिएको छ ।

‘‘ गाउँका झण्डै १ सय जना बालबालिकाहरु नीजि विद्यालमा अध्ययनका लागि छिमेकी जिल्ला बागलुङ जाने गरेका छन् , अंग्रेजी माध्ययमकै कारण विद्यार्थीहरु ठाउँ छाडेर अन्यत्र जान नपरोस भन्ने उदेश्यले आधारभुत तहलाई आग्रेजी माध्ययममा पठनपाठनको व्यवस्था गरिएको हो’’–प्रअ खत्रीले भन्नुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अभिभावकको विश्वास दिलाउन विद्यालयका व्यवस्थापन समिति र शिक्षक कर्मचारीको घरपरिवारका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमै भर्ना गर्ने अभियान नै चलाईएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम रोकाले बताउनुभयो । उहाँले विद्यालयको गुणस्तर सुधारको अधिक प्रयास भएको र भौतिक पूर्वाधारको अभाब प्रमुख समस्याको रुपमा रहेको बताउनुभयो ।

‘‘सामुदायिक विद्यालयको शिक्षा पनि गुणस्तरीय हुन्छ भन्ने सन्देशको जरुरी छ, त्यसका लागि हामी हाम्रा बालबालिकालाई भर्ना गरेर अभिभावकलाई पनि यहिँ भर्ना गर्नुस भनेर गएका छौँ, विद्यालयमा व्यवस्थापन, शिक्षक कर्मचारी, अभिभावक लगायतको तालमेल मिल्न सक्यो भने विद्यालयको शैक्षिक गुणस्तर सुधारको जमर्कोले सार्थकता पाउने विश्वास लिएका छौँ ’’–अध्यक्ष रोकाले भन्नुभयो ।

विद्यालयले लकडाउनको यस समयमा अभिभावकहरुलाई न्यू मिडियाको माध्ययमबाट सम्पर्क गर्ने, विद्यालयको आन्तरिक सुधारका कार्यहरुलाई तिब्रताका साथ अघि बढाएको विद्यालयका सहायक प्रअ एकेन्द्र महतले बताउनुभयो । शैक्षिक क्यालेन्डर नै तयार गरिएको छ भने भर्ना अभियानलाई समेत सोहि बमोजिम सञ्चालन गरिएको उहाँको भनाई छ । भानु माविको शैक्षिक सुधारमा चौतर्फि पहल भएको र जिर्ण भवनको मर्मत र नयाँ भवन निर्माणको लागि पहल थालिएको वडा अध्यक्ष टेकबहादुर रावलले जानकारी दिनुभयो ।