अर्जेन्टिनालाई मेस्सीको पहिलो उपाधि

  • २७ असार २०७८, आईतवार
  • 1181 पटक पढिएको

एजेन्सी, २७ असार ।  लियोनल मेस्सीले राष्ट्रिय टिम अर्जेन्टिनाका लागि पहिलो उपाधि हात पारेका छन् । आईतबार बिहान ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि हात पारेको छ । उपाधिसंगै मेस्सीले अर्जेन्टिनाबाट पहिलो उपाधि हात पारे । ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाओ रंगशालामा मेस्सीको अर्जेन्टिनाबाट उपाधि जित्ने सपना पुरा भयो ।  ३४ बर्षिया मेस्सीले अर्जेन्टिनाका लागि खेलेका मुख्य १० प्रतियोगितामा पहिलो पटक उपाधि हात पारेका हुन् ।

अर्जेन्टिना आफैले २८ वर्षपछि पहिलो कोपाको उपाधि जितेको हो । मेस्सीको पहिलो अन्तराष्ट्रिय उपाधि यात्रामा एन्जल डी मारिया नायक रहे । उनकै एकमात्र गोलमा अर्जेन्टिनाले आईतबार जित निकाल्यो ।

एक समय मेस्सी गोलको निकै नजिक थिए । तर उनी चिप्लिन पुगे । वान भर्सेस वानमा समेत गोल हुन सकेन । ब्राजिलका एभर्टनका फरवार्ड रिजर्डलिसनले समेत एक सुन्दर अवसर प्राप्त गरेका थिए । तर उनको गोललाई अफ साईडको मान्यता दिईयो । अर्जेन्टिनाका गोलकिपर इमी मार्टिनेजले समेत केही उत्कृष्ट बचाउ गरे । जसले गर्दा साविक विजेता समेत रहेको घरेलु टोली ब्राजिल उपाधि रक्षामा असफल रह्यो ।

मेस्सीका बासिलोनाका पूर्व सहकर्मी नेयमारको अन्तराष्ट्रिय उपाधिको खडेरी यद्धपी जारी छ । सन् २०१९ मा ब्राजिलले कोपा अमेरिका जित्दा नेयमार चोटका कारण टिम बाहिर थिए ।

युरापेली क्लब फुटबलका सर्वाधिक सफल खेलाडी मेस्सीले बार्सिलोनाबाट व्यक्तिगत र टिमका लागि सबै उपाधि हात पारेका छन् । व्यवसायीक खेल जिवनको अधिकांश सयम बार्सिलोनामा बिताएका मेस्सीले युरोपेली क्लब फुटबलका सबै उपाधि जिते । आफुलाई विश्व फुटबलको उत्कृष्ट खेलाडीको रुपमा प्रमाणित गरे । तर अर्जेन्टिनाका लागि उनले केही जित्न सकेका थिएनन् ।

पटक पटक फाईनलमा पुगेर बिमुख हुँदा धेरैले मेस्सी अर्जेन्टिनाबाट उपाधि जित्न नसक्ने आँकलन हुने गरेको थियो । तर करियरको उत्तरार्धमा रहेका मेस्सीले देशका लागि पहिलो मुख्य प्रतियोगिता जित्न सफल भएका छन् । अर्जेन्टिनालाई फाईनलसम्म पुर्याउन मेस्सीकै भूमिका महत्वपुर्ण रहेको थियो । अर्जेन्टिनाले गरेका १२ गोलमध्य ९ गोलमा मेस्सीकै प्रत्यक्ष संलग्नता थियो ।