बाढीपहिरो प्रभावितलाई मोनाद्धारा निर्माण भएका ४० घर हस्तान्तरण (तस्बिर/ भिडियाे)
- २० असार २०७८, आईतवार
- 1310 पटक पढिएको
म्याग्दी २० असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्ड अनुसारका प्रतिघर पाँच/पाँच लाख रुपैयाँ गरी कुल २ करोडको लागतमा घर निर्माण गरि हस्तान्तरण गरिएको मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।
आईतवार रघुगंगा गाउँपालिकामा निर्माण भएका ४ वटा घर हस्तान्तरण गरिएको छ । यस अघि अन्य ५ वटै स्थानीय तहमा पुननिर्माण गरिएका घरहरु सम्बन्धीत लाभग्राहिलाई हस्तान्तरण गरिसकिएको छ । करिब ६ महिनाको अवधिमा मोनाले धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार चार वटा पहिरो पिडितको घर निर्माण गरि हस्तान्तरण गरिउको घर पुननिर्माण समितिका सदस्य दल शेरपुजाले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस र स्थानीय तहसंगको समन्तवयमा बाढी, पहिरो पीडित लाभग्राहीको छनौट गरिएको हो ।
गतबर्षको माघ महिनामा रघुगंगा गापा–५, झिँबाट सुरू भएको पुर्नवास अभियानले पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको मोनाले जनाएको छ । आइतबार रघुगंगा गापाभित्र निर्मित ४ घर मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, वडा नं ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा,वडा नं ८ का अध्यक्ष गमान छन्त्यालको उपस्थितीमा लाभग्राहीलाई हस्तान्तरण गरिएको थियो ।
मोनाका अध्यक्ष जुग्जालीले प्राकृतिक विपत्तिको समयमा पीडितहरुलाई राहत र सरकारलाई समेत सहजता होस भन्ने उदेश्यले प्रवासी म्याग्देलीहरुले पुननिर्माण अभियानमा सहकार्य गरिएको बताउनुभयो । उहाँले जिल्लामा प्रवासीहरुले सामाजिक क्षेत्रमा सहकार्य गर्दै आएकोमा अब छिटै नै स्थानीय स्तरमै रोजगारका अवसर सिर्जना गर्ने गरि लगानी समेत बढाउने तयारी गरिएको जानकारी दिनुभयो ।
घर हस्तान्तरण कार्यक्रममा रघुगंगाका अध्यक्ष भण्डारीले सरकारी तवरबाट सुरु भएको पुननिर्माण अभियान अगाबै प्रवासी म्याग्देलीहरुको अगुवाईमा सूरु भएको पुननिर्माणले सार्थकता पाएकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । रघुगंगामा गत बर्षको बाढी, पहिरोबाट १७ जना पूर्ण क्षति भएका लाभग्राही रहेकोमा जिल्ला विपद् व्यवस्थापन समितिले १३ जना मात्रै छनौट गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले छनौट गरेका मध्ये मोनाले ४ परिवारको आवास निर्माण गरिदिएको हो ।
छुटेका ४ सहित पहिचान भएका नयाँ पीडितहरुको विवरण कायम गर्न जिल्ला प्रशासन कार्यालयमा विपरण पेश गरिएको गाउँपालिकाले जनाएको छ । रघुगंगामा नीजि आवास पुननिर्माण तथा पुनस्थापर्ना अनुदान कार्यविधि अनुसार ९ जना लाभग्राहीहरुसंग सम्झौता गरि पहिलो किस्ता रु ५० हजारका दरले निकासा गरि काम अघि बढेको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो । घर हस्तान्तरणका लागि मोनाबाट घर हस्तान्तरण कार्यक्रममा मोनाका अध्यक्ष जुग्जाली पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक चक्रबहादुर थापा, उपाध्यक्ष सुर्जे भट्टचन सचिव रमेश पौडेल, सह–कोषाध्यक्ष महेन्द्र खड्का, मोना आइसी सदस्य एवम् निमाण समिति सदस्य दल शेरपुन्जा र मध्यपुर्व उपसंयोजक सुबोध बरुवाल लगायतको टोली खटिएका थिए ।