समर कप २०२१ फुटसल प्रतियोगिताको उपाधी बेनी एफ्सीलाइ

  • १९ असार २०७८, शनिबार
  • 1281 पटक पढिएको

जापान १९ असार ।  बेनी फुटबल क्लव ओसाका जापानले आयोजना गरेको प्रथम समर कप २०२१ फुटसल प्रतियोगिताको उपाधी आयोजकले नै जितेको छ । जापानमा रहेका फुटबल प्रेमी र खेलाडीबिचको एकता र सहकार्यका लागि स्थापना भएको क्लवले आयोजना गरेको प्रतियोगिताको उपविजेता स्टार एफसी भएको छ ।

ओसाका भित्रका बिभिन्न ११ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा बेनी एफसीले १ का बिरुद्ध ४ गोल गरेको म्याग्दी प्रवासी नेपाली संघ(मोना)क्षेत्रीय कमिटी सेन्दाईका निर्वतमान अध्यक्ष कमल बानियाँले बताए । प्रतियोगिताका प्रथम पुरस्कार ७० हजार येन र दोस्रो पुरस्कार ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी बेनी एफसीका सुजन पुन, उत्कृष्ट गोल रक्षक बेनी एफसीकै चित्र जुग्जाली, सर्वाधिक गोलकर्ता बेनी एफसीकै अनिश कुँवर रहेका थिए । प्रतियोगितामा विजेतालाई प्रमुख अतिथि बिकास पराजुली, नर थापा, चित्र पुन लगायतले वितरण गरेका थिए । बेनी फुटबल क्लवका मनोज जङ्ग बानियाँ, सञ्चालन सागर बोगटी र कार्यक्रमको ब्यवस्थापन दिनेश पुनले गरेका थिए ।

क्लवका अध्यक्ष बानियाँले जापानमा रहेका खेलकुद गतिविधिलाई समेत निरन्तरता दिने गरी क्लवको स्थापना गरिएको बताए । उनले क्लवमार्फत खेलकुदसँगै विभिन्न रचनात्मक कार्यहरु समेत गरिने प्रतिबद्धता जनाए ।