मोनाद्वारा मालिका र धवलागिरी गाउँपालिकाका बाढी–पहिरो पीडितलाई घर हस्तान्तरण

  • १८ असार २०७८, शुक्रबार
  • 884 पटक पढिएको

बेनी १८ असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा बाढी पहिरो पीडितहरुको लागि निर्माण गरिएका नवनिर्मित घर हस्तान्तरण गर्न थालिएको छ । मोनाले बेनी नगरपालिकामा निर्माण गरेका घरहरु हस्तान्तरण गरिसकेको छ । विहिवार मालिका गाउँपालिका र बुधवार धवलागिरि गाउँपालिकामा बाढी, पहिरो पीडितहरुको लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको छ ।


मालिका गाउँपालिका–७ बिमका बाढी–पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको हो । गत बर्ष अविरल बर्षका कारण आएको बाढी–पहिरो विस्थापित बिमका दश परिवारलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर,प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी लगायतको उपस्थितिमा मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले नवनिर्मित घरको डमी चाबी हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै धवलागिरिका बाढी,पहिरो पीडित १४ परिवारलाई बुधबार गाउँपालिका अध्यक्ष थमसरा पुन मगरको उपस्थितीमा घर हस्तान्तरण गरिएको छ । धवलागिरीको वडा नम्बर ६ ,मराङमा दश र वडा नम्बर ७, धारापानीमा ४ घर निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । जिल्लामामा बाढी,पहिरोबाट विस्थापित मध्ये ४० परिवारका लागि मोनाले घर बनाइदिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले मोना अन्तर्राष्ट्रिय कार्यसमिति सहित प्रवासमा रहेका सबै म्याग्दीलीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।उहाँले मोनाले निर्माण गरेको घर पीडित परिवारलाई हस्तान्तरण गर्ने काम उदाहरणीय भएको बताउनुभयो । धवलागिरी गाउँपालिका अध्यक्ष पुन मगरले मोनाले पीडित परिवारको घर बनाइदिएर उदाहरणीय काम गरेको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै प्रजिअ अधिकारीले धन्यवाद व्यक्त गर्नुभयो ।

मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओम नारायण जुग्जालीले जिल्लामा बाढी–पहिरोबाट विस्थापित परिवारलाई स्थानिय तहको समन्वय तथा सहकार्यमा जिल्लामा दुई करोड लागतमा ४० वटा घर निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रती घर ५ लाखा रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

अध्यक्ष जुग्जालीले नवनिर्मित घरको पूर्णरुपमा भोगचलन गर्न लाभग्राहीलाई आग्रह गर्दै गाउँपालिका मार्फत संरक्षण गर्न अनुरोध गर्नुभयो । अध्यक्ष जुग्जालीले तत्काल राहत सहयोग संगै पीडित परिवारलाई आवास निर्माणका लागि मोनाले अभियान संचालन गरेको स्मरण गर्नुभयो । उहाँले घर निर्माण अभियानमा सहयोग गर्ने प्रवासमा रहेका म्याग्दीली लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।