सिमलचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाईते

  • १६ असार २०७८, बुधबार
  • 1068 पटक पढिएको

म्याग्दी १६ असार । म्याग्दीमा बुधवार साँझ भएको जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नम्बर २ सिमलचौरको मिठाैला, नेवारेखोलामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि बेनी नगरपालिका ५ डडुवाकी १९ बर्षिय सविना भण्डारी र मंगला गाउँपालिका– १ का १३ बर्षिय बिमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार, दुर्घटनामा परि अन्य ६ जना घाईते भएका छन् । घाईतेहरुलाई उद्धार गरि उपचारको लागि बेनी अस्पतालमा ल्याईएको छ । घाईतेमध्ये एकको अवस्था जटिल रहेको जनाईएको छ । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मंगला गाउँपालिका–१ का सुदन आचार्य, अमृता राम्जाली, एन्जिला भण्डारी, एडिसा नेपाली, गीता खत्री र चालक अनिल रसाईली घाईते भएको प्रहरीले जनाएको छ । बेनी अस्पतालमा उपचाररत घाइतेहरुमध्ये चालक रसाईलीको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जनाइएको छ ।