नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा पाठ्यपुस्तक भित्रियो

  • ६ असार २०७८, आईतवार
  • 1616 पटक पढिएको

म्याग्दी ६ असार । नयाँ शैक्षिक सत्रका लागि म्याग्दीमा पाठ्यपुस्तक भित्रिएको छ । कोरोना नियन्त्रणको लागि जारी गरिएको लकडाउन र अबिरल बर्षाको कारण अस्तव्यस्त बनेको सडक समस्याका बिच पनि जिल्लामा नयाँ शैक्षिक सत्रका लागि आबश्यक पर्ने पाठ्यपुस्तक भित्रिएको हो ।म्याग्दीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्य समितिले सामुहिक रुपमा जिल्लाका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याउन डिपो नै सञ्चालन गरि पाठ्यपुस्तक उपलब्धताको बन्दोबस्त मिलाएका छन् । असार १ गतेदेखि सामुदायिक विद्यालयहरुमा भर्ना अभियान सञ्चालन भएको सन्दर्भलाई मध्यनजर गरि सामुदायिक विद्यालयहरुको लागि जिल्लामा आबश्यक पर्ने पाठ्यपुस्तक मध्ये करिब ९५ प्रतिशत पाठ्यपुस्तक ल्याइसकिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्य समिति म्याग्दीका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।


उहाँका अनुसार, समितिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा स्थित क्षेत्रिय कार्यालयसंग समन्वय गरि कक्षा १ देखि १० सम्मका पुस्तक आयात गरिएको छ । समितिले शिक्षा विकास तथा समन्वय इकाई मार्फत विद्यार्थिहरुको तथ्याङ्क संकलन गरेर हरेक कक्षामा एक हजार सात सयदेखि दुई हजार सम्मको संख्यामा पाठ्यपुस्तकको सेट ल्याएको जनाएको छ । कक्षा ५ देखि १० सम्मको लागि जनक शिक्षा सामग्री केन्द्रबाट रु ७६ लाख र कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक नीजि प्रकाशन गृहबाट रु ३६ लाख बराबरको लगानीमा खरिद गरि ल्याईएको जनाईएको छ ।

कोरोनाको जोखिमका बिच पनि जिल्लाका सबै पुस्तक तथा स्टेशनरी व्यवसायिहरुले सामुहिक रुपमा खरिद विक्रि गर्ने गरि सामुदायिक विद्यालयहरुलाई लक्षित गरि डिपो सञ्चालन गरिएको र दुर्गम बस्तीहरुलाई लक्षित गरि स्थानीय तहमा रहेका व्यवसायिहरु मार्फत सहज रुपमा विद्यालयहरुमा पाठ्यपुस्तक उपलब्धता गराउने तयारी गरिएको पुस्तक खरिद तथा व्यवस्थापन समितिका संयोजक ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो । धौलागिरि, अन्नपूर्ण, मालिका, रघुगंगा , मंगला गाउँपालिका र बेनी नगरपालिकामा क्रमशः दुर्गमलाई प्राथमिकता दिएर पुस्तकहरु पठाउने तयारी गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्य समितिमा जिल्लामा रहेका २६ जना व्यवसायि आबद्ध छन् ।