पछैमा रामायण पार्क निर्माण हुँदै
- ६ असार २०७८, आईतवार
- 1548 पटक पढिएको
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान )निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पार्क निर्माणका बिषयमा शनिबार पछैमा स्थानीय र सरोकारवालाहरु बिच छलफल भएको छ । पौराणिक प्रमाणलाई यथावत राखेर पार्क बनाइने भएको छ ।
पहिलो चरणमा रामायणको मुर्ति ,बगैचा,बिश्राम स्थल ,धर्मशाला लगायतका पुर्वाधार बनाइने भएको छ । बजेटको उपलब्धता र आवश्यकताको आधारमा पुर्वाधार निर्माणलाई क्रमागत रुपमा निरन्तरता दिइने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँले मन्त्रालय र नगरपलिका बिच समन्वय नहुँदा ढिलाई भएको बताउनुभयो । पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गा मध्य पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन लागिएको नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

२०७४ देखीनै बजेट बिनियोजन गरे पनि ठाउँ छनौट हुन नसक्नु र स्रोत अभावमा रोकिएको रामायण पार्कको योजनालाई नगरपालिकाको गौरबको आयोजनाको रुपमा कार्यान्वयनमा लैजान लागेको नगर कार्यपालिकाको भौतिक पुर्वाधार विकास सममितिका संयोजक कृष्णकुमार बिश्वकर्माले बताउनुभयो । निवर्तमान संघिय सांसद भुपेन्द्र बहादुर थापाले रामायण पार्क म्याग्दीको गौरवको योजना मात्र नभएर पौराणिक महत्वको उजागर र धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले निर्माण हुने पार्कको भौतिक संरचनालाई दिगो बनाउन स्थानीयको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको अर्थुङ्ग–पुलाचौ र पुलाचौर–पुर्णगाउँ सडक आयोजनालाई प्रभावकारी बनाउन सकेमा रामायण पार्क आवतजावत गर्ने पर्यटकलाई सुविधा पुग्ने उहाँको भनाई छ ।

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले गलेश्वर ,पछै,जगन्नाथ र टोड्केलाई जोडेर नयाँ गन्तब्य स्थलको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । पुलह पुलत्स्य क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँ ,गलेश्वर शिवालय क्षेत्र बिकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मी ,कर्णबहादुर बानियाँ ,भिमबहादुर बानियाँ लगायतले पछैमा रामायण पर्का बन्न लागेकोमा खुशी व्यक्त गर्नुभयो । हिन्दु धर्मग्रन्थ श्री भागवत पुराणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह ,पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको पुराणमा ब्याख्या गरिएको छ ।
