अबिरल बर्षाको कारण चेचुङ्गमा नवनिर्मित खेलमैदान भत्कियो
- ४ असार २०७८, शुक्रबार
- 1012 पटक पढिएको
-
म्याग्दी ४ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ चेचुङ्ग गाउँमा निर्माण भएको खेलमैदान बर्षातको कारण भत्किएको छ । करिब रु १० लाख लगानीमा स्थानीय जनशक्ति युवा क्लबको अगुवाईमा निर्माण भएको खेलमैदान भत्किएको हो ।
दुई महिना अघि मात्रै निर्माण सम्पन्न भएको खेलमैदान भत्किएपछि समस्या भएको क्लबका सल्लाहकार सदस्य भमबहादुर घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार, नवनिर्मित खेलमैदान भत्किएपछि खेलकुद गतिविधि प्रभावित बनेको छ ।
खेलमैदानमा स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीबाट समेत सहयोग संकलन गरिएको थियो । त्यसैगरि खेलमैदानको घेरोवार लगायतका कार्यका लागि धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनको पहलमा निवर्तमान सामाजिक विकास मन्त्री एवम् प्रदेश सभा सदस्य नरदेवी पुनको सिफारिसमा रु ५ लाख बजेट उपलब्ध भएको थियो ।खेलमैदान निर्माण गरि घेराबार समेत गरिएको अवस्थामा डिलतर्फको भाग बर्षातको कारण भत्किएपछि पुननिर्माण गर्नुपर्ने भएको क्लबका प्रमुख सल्लाहकार बेलबहादुर घर्तिले जानकारी दिनुभयो । क्लबका कोषाध्यक्ष चक्रबहादुर घर्तिले दुर्गम बस्तीमा नवनिर्माण भएर अविरल बर्षाको कारण भत्किएको खेलमैदानलाई पुननिर्माण गर्न सम्बन्धित निकायको ध्यानकर्षण हुनुपर्नेमा जोड दिनुभयो ।