म्याग्दीमा बाढीको बितण्डा : बेनी बजार सहित तटिय क्षेत्रका बस्ती र बजार जोखिममा

  • २ असार २०७८, बुधबार
  • 2514 पटक पढिएको

म्याग्दी २ असार । केही दिनयता परिरहेको लगातारको वर्षाको कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजिवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ ।  कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ । नदीको किनार नजीक रहेको जेसिज भवन देखि करिब एकसय मिटर माथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको छ । नदीले तटबन्ध भत्काएसंगै बजारतर्फ कटान गर्ने जोखिम बढेको छ ।


कालीगण्डकी नदीको कटानसंगै बेनी बजारको अस्पतालचोक, कालिपुल लगायतका क्षेत्र बाढीको चपेटामा परेका छन् । बजारमाथि अर्थुङ्गे गाउँबाट झरेको बाढीले सहज निकास नपाएपछि अस्पतालचोक र कालिपुल क्षेत्रको सडक र बसपार्क बाढीले पुरिएको छ ।
बाढीले बसपार्क क्षेत्रमा पारकिङ गरेर राखेका सवारी सधानहरुमा समेत क्षति पुयाउन थालेको छ । बेनी बजारसंगै मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार समेत नदी कटानको जोखिममा परेको छ । म्याग्दी नदीले बजार संरक्षणको लागि बनाएको तटबन्ध भत्काएर बजारतर्फ कटान गर्न थालेपछि बजार जोखिममा परेको छ । जिल्लाको सिंगा तातोपानी, गलेश्वर, पोखरेबगर, भुरुङ तातोपानी लगायतका नदीका तटिय क्षेत्रका बजार र बस्तीहरु नदी कटानको जोखिममा छन् ।


म्याग्दीमा बर्षाको कारण बाढी र पहिरोले सबै सडकहरु पूर्ण रुपमा बन्द भएका छन् । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुङ्गा, बेनी–बागलुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् । पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गला गाउँपालिकाको तल्लो डडुवामा पहिरोबाट घरहरुमा क्षति पुगेको छ ।


पहिरोबाट अन्नपूणर्–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी–२ बगरफाँटमा नौ र वडा नं ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएका छन् । यसैगरी बेनी–४ डाँडाखेतमा तीन परिवार विस्थापित भएका छन् । मङ्गला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर भत्किएको छ ।


बर्षा नरोकिएको र नदीमा बहाब बढ्ने क्रम जारी रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । नदीको तटिय क्षेत्रसंगै बाढी र पहिरोको जोखिममा रहेका स्थानीयबासीलाई सतर्कता अपनाउन अनुरोध गरिएको र प्रकोपका सुचनाहरु सम्बन्धीत निकायमा तत्काल दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए ।