ज्याला मजदुरी गरेको रकमबाट लकडाउनबाट प्रभावितलाई राहत वितरण

  • ३० जेष्ठ २०७८, आईतवार
  • 1273 पटक पढिएको

म्याग्दी ३० जेठ । म्याग्दीका एक युवाले दुई महिना बढी समय ज्याला मजदुरी गरि आर्जन गरेको कमाईलाई सामाजिक क्षेत्रमा खर्चनुभएको छ । जिल्लाको मंगला गाउँपालिका–१ पूर्ण गाउँका युवा श्याम बहादुर विकले स्थानीय जनआवाज आधारभुत विद्यालयमा शौचालय निर्माण योजनामा काम गरि प्राप्त गरेको ज्यालालाई कोरोनाबाट प्रभावित भएका गरिब, विपन्न नागरिकको राहतमा खर्चनुभएको हो ।


३० बर्षीय युवा विकले रु ६० हजार ज्याला बापतको रकमबाट स्थानीय २५ जना गरिब, विपन्न र ज्येष्ठ नागरिकहरुलाई चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न वितरण गर्नुभएको विद्यालयका प्रअ सुनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

पुननिर्माण प्राधिकरण शिक्षा इकाई मार्फत प्राप्त भएको रु १५ लाखको पक्कि शौचालय निर्माण गर्ने योजनामा विकले २ महिनाबढी काम गर्नुभएको थियो । कोरोना महामारीको कारण समस्यामा परेका व्यक्तिहरुको सहजताको निम्ती आफुले ज्याला बापत प्राप्त गरेको रकमबाट राहतमा सहयोग गरेको सहयोगदाता विकले बताउनुभयो ।