कानुन विपरित बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्पर प्रहरी नियन्त्रणमा 

  • २७ जेष्ठ २०७८, बिहीबार
  • 1533 पटक पढिएको

म्याग्दी, २७ जेठ ।  बेनी नगरपालिका–६ चुत्रेनी–बगुवाखोला स्थित म्याग्दी नदीको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्परलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा १ क ६४०३ नम्बरको स्काभेटर, ध १ त ५८२, ग १ त ५४४८ र ध १ त ५३२८ नम्बरका तीन वटा टिप्पर निणयन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाएको हो ।

बगर उत्खनन्मा मानवीय जनशक्तीको अधिकतम प्रयोग गर्ने ठेक्का सम्झौता गरेका निर्माण ब्यवसायीले एक्साभेटर, ब्याकुहोलडर प्रयोग गरेर नदीजन्य बस्तुको दोहन गर्दा वातावरणीय, जल प्रदुषणका साथै जलचरको बासस्थानमा असर र नदी गहिरिएर कटान तथा बाढीको जोखिम हुन्छ । संघीय सरकारको कानुन अनुसार नदीजन्य बस्तु उत्खनन्मा उपकरण प्रयोगको बिषयमा स्पष्ट उल्लेख छैन् ।

केही समययता म्याग्दी प्रहरीले नदी बगरमा उपकरणको प्रयोगलाई कडाई गरेको छ । यसअघि रघुगंगा, मालिका, अन्नपूर्ण, मगला गाउँपालिका क्षेत्रको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र ढुवानी गने टीप्परलाई नियन्त्रणमा लिएर कारबाहीका लागि जिससमा पठाएको प्रहरीले जनाएको छ ।

ठ्ेक्का लिएका निर्माण ब्यवसायीहरुले भने मजदुर मार्फत नदीजन्य बस्तुको संकलन सम्भव नभएको, ढिलाई हुँदा ठूला बिकास आयोजनामा पर्याप्त मात्रामा कच्चा पदार्थ पु¥याउन नसकिएको, स्पष्ट ब्यवस्था नभएको प्रतिक्रिया दिने गरेका छन् ।

निषेधाज्ञाका कारण प्रशासन, जनप्रतिनिधी र सुरक्षाकर्मी कोरोना महामारी नियन्त्रणमा ब्यस्त भएको मौका छोपेर बगर उत्खनन्को प्रयास गरेपनि मापदण्ड र कानुन विपरितको उत्खनन् गर्न नदिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताए ।  मापदण्ड विपरित नदी उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्पर प्रहरीले नियन्त्रण लिएको परिसर नजिक जिसी क्रसर उद्योग संचालनमा रहेको छ ।