लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत

  • २५ जेष्ठ २०७८, मंगलवार
  • 966 पटक पढिएको

म्याग्दी २५ जेठ । मानविय र सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत भएको छ । लायन्स क्लब अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालले मे महिनामा उत्कृष्ट मानविय र सामाजिक सेवामा कार्य गरेकोमा अवार्डद्धार सम्मान गरेको हो ।


मोफसलमा रहेका क्लबहरुमध्येबाट एक्टीभ क्लबको रुपमा डिस्ट्रिक्ट गभर्नरद्धारा प्रदान हुने अवार्ड प्राप्त भएको र यसले थप सामाजिक कार्यप्रतिको जिम्मेवारी बढाएको क्लबका अध्यक्ष खम थापा मगरले बताउनुभयो । ‘‘ हामीले सम्मान र पुरस्कारका लागि काम गरेका होइनौँ, तर काम गर्दै जाँदा मुल्यांकन पनि हुँदै जाँदो रहेछ, डिस्ट्रिक्ट गभर्नर ज्यूबाट प्राप्त अवार्डले क्लबलाई थप जिम्मेवारीबोध गराएको छ’’– थापाले भन्नुभयो । यस महिनामा क्लबले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारमा सघाएको छ ।

रु ३ लाख ५१ हजार लागतमा बेनी अस्पतालमा औषधी विक्रि कक्ष अस्थायी भवन निर्माण गरेको क्लबले धवलागिरि र मंगला गाउँपालिकामा करिब रु १ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको थियो । क्लबले कारोना महामारीको समयमा लकडाउनको कारण अस्पतालसम्म आउन र घर फर्कन समस्यामा परेका विरामीहरुलाई लक्षित गरि ओमकुमारी शान्ति कोषसंगको समन्वयमा एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरि दुई वटा  निशुल्क यातायात सेवा समेत सञ्चालन गरेको छ ।

हालसम्म ५० जना भन्दा बढीलाई जिल्लाभित्र र जिल्लाबाट पोखरा लगायतका ठुला शहरहरुमा उपचारका लागि यातायात सेवा उपलब्ध गराईसकेको जनाईएको छ । यसैगरि क्लबका पूर्व अध्यक्ष समेत रहनुभएका रिजन चेयर पर्सन लोकेश पुन मगर मे महिनाको उत्कृष्ट एवम् क्रियाशिल रिजन चेयर पर्सनको रुपमा सम्मानीत हुनुभएको छ ।