बेनी नगरपालिकामा समुदाय स्तरमा कोरोना परिक्षणको दोस्रो चरणको अभियान

  • २५ जेष्ठ २०७८, मंगलवार
  • 1156 पटक पढिएको

म्याग्दी २५ जेठ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि म्याग्दीको बेनी नगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षणको दोस्रो चरणको अभियान सुरुवात गरेको छ । लक्षण देखिएका र संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई लक्षित गरि दोस्रो पटक समुदाय स्तरमा अभियानकै रुपमा कोरोना परिक्षणलाई अघि बढाईएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।


सूचना जारी गरेरे सम्बन्धित वडा कार्यालयसंगको समन्वयमा परिक्षणको अभियान चलाईएकाले लक्षण देखिएका सबैलाई परिक्षणमा आउन नगरपालिकाले अनुरोध समेत गरेको छ । उहाँका अनुसार जेठ २५ गते वडा नम्बर ४ को थामडाँडाबाट सुरु भएको अभियान अन्तर्गत बेनी बजार बाहिरका सबै वडा स्तरमा पुगेर आवश्यकता अनुसार पीसीआर र एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिनेछ ।

बेनी नगरक्षेत्रमा यस अघि पनि समुदाय स्तरमै पुगेर संक्रमितको खोजी गर्न परिक्षणलाई तिब्रता दिईएको थियो । नगरपालिकामा हालसम्म १४३० जनाको नमुना संकलन गरिएकोमा ८३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ । ७४५ जनाले कोरोना जितेर निको भएको र ७४ जना सक्रिय संक्रमित रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।