राखु समाज अष्ट्रेलियाद्धारा स्वास्थ्य सामाग्री सहयोग
- १७ जेष्ठ २०७८, सोमबार
- 1722 पटक पढिएको
म्याग्दी १७ जेठ । अष्टेलियामा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु समाज अष्ट्रेलियाले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा सघाउन स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । पहिलो चरणमा वडा नम्बर २ भगवती र ३ वडा पिप्लेका स्वास्थ्य चौकीहरुमा आउने विरामीहरुको उपचारलाई मध्यनजर गर्दै एक/एक थान थर्मलगन, दुई/दुई सेट पीपीइ लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको राखु समाज अष्ट्रेलियाका सचिब गोकुल भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, भगवती स्वास्थ्य चौकीलाई मास्क र सेनिटाइजर लगायतका थप स्वास्थ्य सामाग्री समेत सहयोग गरिएको छ । पहिलो चरणमा रु १४ हजार बराबरको अत्याबश्यक स्वास्थ्य सामाग्री सहयोग गरिएको समाजका अध्यक्ष शतिस भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, राखु समाज अष्टेलियाले पिप्ले र भगवती स्वास्थ्य चौकीका लागि एक ÷एक थान अक्सिजन कन्सल्टटेटर मेसिन समेत सहयोग गर्ने तयारी गरिएको छ । अष्ट्रेलियामा नै रु १ लाख ८५ हजार लागतमा खरिद भएका उक्त मेसिन केहि सातामै नेपाल आईपुग्ने र सम्बन्धीत स्वास्थ्य संस्थालाई उपलब्ध गराउने तयारी गरिएको छ ।
नेपालमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको प्रभाब रघुगंगा गाउँपालिकामा पनि बढेसंगै अष्ट्रलियामा रहेका राखुबासीहरुले समेत आफ्नो जन्मथलोमा आबश्यक स्वास्थ्य सामाग्री सहयोगका लागि अभियान चलाएका थिए । पुजा खत्री संयोजक र कृष्ण भण्डारी उपसंयोजक रहेको अभियान मार्फत राखुबासीहरुबाट सहयोग जुटाईएको छ । अभियानमा अष्ट्रेलियामा रहेका ३० जना बढी राखुबासीले आर्थिक सहयोग गरेको जनाईएको छ । अष्ट्रेलियामा रहेका राखुबासीहरुले जन्मथलोमा आइपर्ने हरेक आपतविपतमा सहकार्य संगै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका छन् । पछिल्लो सात महिनामा मात्रै राखु समाज अष्ट्रेलियाले विभिन्न ७ वटा सामाजिक अभियानमा सहकार्य गरिसकेको जनाएको छ ।