यो लोकतन्त्रको जित हो

  • १७ जेष्ठ २०७८, सोमबार
  • 730 पटक पढिएको

लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनबाट विजयी भएका काँग्रेसका दृगनारायण पाण्डेले यो जित लोकतन्त्र  र प्रजातन्त्रको जित भएको बताएका छन् । एमाले उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्र लगायतका मुद्दाहरूलाई सशक्त ढंगले उठाउने बताए ।

‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो । सबै मतदाताको जित हो’, सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा, स्वतन्त्र लगायत सबै मतदातामा धन्यवाद दिन चाहन्छु ।

उहाँहरुले मलाई विश्वास गरेर र काँग्रेस पार्टीले पनि विश्वास गरेर अमूल्य मत दिनुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु ।’

अहिलेको अवस्थामा संघीयता, गणतन्त्र लगायतका मुद्दाहरु ओझेलमा परेकाले त्यसको रक्षाका लागि राष्ट्रियसभा सदस्यको हैसियतले पहल गर्ने उनको भनाइ थियो ।  ‘अहिले संघीयता, गणतन्त्र लगायतका जुन मुद्दाहरु ओझेलमा रहेका छन्, ती सबै मुद्दाहरूलाई हामी सबैको प्रयासबाट राष्ट्रियसभामा उठाउँछौँ’, उनले भने ।