खिबाङमा पदमार्ग निर्माण
- १४ जेष्ठ २०७८, शुक्रबार
- 1792 पटक पढिएको
म्याग्दी १४ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको खिबाङमा पदमार्ग निर्माण भएको छ । बिट्रीस वेलफेयर एसोसिएसन (कादुरी) संस्थाको आर्थिक सहयोगमा स्थानीयबासीले दुई महिना लगाएर पदमार्ग निर्माण गरेका हुन् । खिबाङको खाम्ला हुँदै चन्द्रज्योति मावितर्फ जाने बाटोमा अप्ठ्यारो र साँघुरो रहेको भिरमा सिढीँ चिनेर पदमार्ग बनाईएको छ ।
हाकुजो भिरमा पदमार्ग संगै रेलिङ समेत निर्माण गरिएको स्थानीय अगुवा रेशम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, कादुरी संस्थाले पदमार्ग निर्माणमा रु ५ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । संस्थाले उपलब्ध गराउने बजेटबाट २ मिटर सम्म फराकिलो पदमार्ग बनाईएको छ ।
अहिलेसम्म ३५० मिटर लामो बाटो निर्माण गरिसकिएको र बजेटले अपुग भएमा स्थानीयबासीले श्रमदान समेत गरेर पदमार्ग निर्माणलाई पूर्णता दिने योजना बनाएको पुनले जानकारी दिनुभयो । पहिले जोखिमपूर्ण तवरले यात्रा गर्नुपर्ने यस क्षेत्रमा पदमार्ग निर्माण भएपनि आवत जावतमा सहजता मिलेको छ ।
तस्बिरः सगुन कटुवाल