एमाले स्थायी कमिटीलाइ चुनौती दिँदै सुदूरपश्चिम सरकारको समर्थन फिर्ता नलिने निर्णय

  • १२ जेष्ठ २०७८, बुधबार
  • 851 पटक पढिएको

धनगढी १२ जेठ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

नेकपा ९एमाले० को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सो निर्णयपछि सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बसेको थियो । स्थायी कमिटीलाई चुनौती दिंदै समर्थन फिर्ता नलिने निर्णय गरेपछि माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारको संकट टरेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । बुधबारको बैठकमा २१ जना सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । सबभन्दा ठूलो दल एमालेका २५, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा०का २ जना प्रदेशसभा सदस्य छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले सोमबार मात्र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरुलाई राजीनामा दिन भनेको थियो । अनलाइनखवर डटकमबाट साभार