खनाल र नेपालसहित ११ जना एमाले पार्टी सदस्यबाट निष्काशन,थप १२ जना नेताहरुलाई स्पष्टीकरण

  • १० जेष्ठ २०७८, सोमबार
  • 1372 पटक पढिएको

काठमाडौं १० जेठ । नेकपा एमालेचित्रको विवाद थप उत्कर्षमा पुगेको छ । विवादको रुप बढ्दै जादा पार्टी विभाजनको औपचारिक घोषणा हुने अवस्थामा पुगेको छ । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपालसहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।

उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ । यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो । यसैबिच नेकपा एमालेले थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । थप स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिन र पार्टीको तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिने निर्णय समेत भएको छ ।