रघुगंगाको प्रकोप व्यवस्थापन कोषमा सहयोग जुट्न थाल्यो

  • ६ जेष्ठ २०७८, बिहीबार
  • 1608 पटक पढिएको

म्याग्दी ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहयोग जुटाउन सुरु गरेको कोषमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले सहयोगदाताहरु मार्फत संकलन हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत संकलन गरि अत्याबश्यक क्षेत्रमा परिचालन गर्नका लागि गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष मार्फत सहयोग आह्वान गरेको छ ।


कोषमा बुधवार पूर्वमन्त्री विक्रम पाण्डेले रु ५ लाख सहयोग गर्नुभएको छ । कालिका कन्ट्रक्सन प्रा.लि.का सञ्चालक समेत रहनुभएका पूर्व मन्त्री पाण्डेले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । चितवनको भरतपुर महानगरपालिका–१० निवासी सहयोगदाता पाण्डे राप्रपाका बरिष्ठ नेता समेत हुनुहुन्छ ।

त्यसैगरि कोषमा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले समेत रु १ लाख सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालिका घर भई काठमाण्डौमा रहनुभएका विशिष्ट व्यक्तिहरुसंगै, समाजसेवि शिव केसी लगायतको पहलमा कोषमा सहयोग जुटाउन थालिएको हो । ‘

‘ गत बर्षदेखि देखिएको कोरोना महामारी अहिले तीब्र गतिमा फैलिएको छ, हामीले यसको रोकथाम र नियन्त्रणको लागि अधिक प्रयास गरेका छौँ, यस अभियानलाई आर्थिक रुपमा अभाब हुन नदिन सहयोगदाताहरु मार्फत समेत समन्वय र सहकार्य हुन थालेको छ, यसले ठुलो सहयोग पुगेको छ’’– गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले भन्नुभयो । उहाँले प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने रकमलाई स्वास्थ्य संगै अन्य आईपर्ने प्रकोप व्यवस्थापनमा समेत परिचालन गरिने जानकारी दिनुभयो ।