म्याग्दीमा कोरोना संक्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

  • ५ जेष्ठ २०७८, बुधबार
  • 2544 पटक पढिएको

बेनी, ५ जेठ । म्याग्दीमा कोरोना संक्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाईटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाईटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्धारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक समेत रहेका सुरत केसीको नेतृत्वमा ४ जना युवाहरुले स्वास्थ्य सावधानीका मापदण्ड पुरा गरि निःशूल्क दाहसंस्कार गर्न थालेका हुन् ।


मृतकका आफन्त संगको समन्वयमा केसी संगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क रुपमा दाहसंस्कार गर्दै आउनुभएको छ । अहिलेसम्म बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका २ जना संक्रमितको सहित पोखरामा मृत्यु भएर बेनीमा ल्याईएका समेत गरि ५ वटाको शव बेनी स्थित कालीगण्डकी र म्याग्दी नदीको दोभान रहेको दोबिल्ना घाटमा व्यवस्थापन गरिसकिएको केसीले बताउनुभयो ।

‘‘ पिपिइ लगायतका सामाग्री रेडक्रसले व्यवस्थापन गरेको छ, हामीले पारिश्रमिक नलिइकन स्वयमसेवीको रुपमा सहयोग गरेका हौँ, जोडरले खाडल खन्नुपर्ने अबस्थामा त्यो खर्च स्थानीय तहले व्यवस्थापन गरिदिनुभएको छ’’–केसीले भन्नुभयो । केसीलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले शव व्यवस्थापन संयोजक तोकेको थियो ।