कोरोना जित्नुभएका ८९ बर्षीय बृद्धको सुझाब ‘आत्मबल र स्वास्थ्य सावधानी’ बढाउँ (भिडियो सहित)

  • ३ जेष्ठ २०७८, सोमबार
  • 1506 पटक पढिएको

म्याग्दी ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवा निवासी ८९ बर्षीय ज्येष्ठ नागरिक केशव सुवेदीले कोरोना जितेर अस्पतालको आइसोलेसनबाट घर फिर्ता हुनुभएको छ । रघुगंगा गाउँपालिका–३ पिप्लेमा सञ्चालित कोभिड अस्पतालमा उपचाररत सुवेदीको स्वास्थ्यमा सुधार आएर निको भएपछि उहाँलाई सोमबार साँझ अस्पतालबाट घर पठाईएको हो ।

ज्येष्ठ नागरिक भएपनि कोरोनालाई सजिलै जित्नुभएका सुवेदीले कोरोनालाई अन्य मौसमी स्वास्थ्य समस्याहरु जस्तै सामान्य लिएर आत्मवल बलियो बनाउने र स्वास्थ्य सावधानी अपनाउँदै स्वास्थ्यमा आएको समस्यालाई नलुकाइकन समयमै अस्पताल पुगेर उपचार गरे सहजै निको हुन सकिने अनुभव व्यक्त गर्नुभयो ।
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका सुवेदीलाई एक साता अघि कोरोनाको लक्षण देखिएपछि कोरोना परिक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ देखिएको र उहाँमा रुघाखोकी सहित अक्सिजनको मात्रा समेत कम देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।


सोमबार सम्ममा उहाँको स्वास्थ्यमा सुधार भएर निको भएपछि अन्य शक्तिवद्र्धक र रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु सहित उहाँलाई घर पठाईएको अस्पतालका डाक्टर सन्तोष प्रसाद बोहराले जानकारी दिनुभयो ।‘‘ अस्पतालमा ल्याउँदा उहाँका घरपरिवार आत्तिनुभएको थियो, रेफर गरि लैजाने कि भन्ने विकल्पहरुमा पनि कुराकानी भएको हो, तर हामीले एक दिन यहिँ नै प्रयास गरौँ, सुधार नभए लैजाउँला भन्यौँ, उपचार सुरु भएकै भोलिपल्टबाट क्रमिक सुधार भयो, उहाँले समेत अन्यन्तै आत्मबल बलियो बनाउने काम गर्नुभयो’’– डाक्टर बोहराले भन्नुभयो ।

अस्पतालबाट डिसचार्ज भएर भएर घर जाने क्रममा सुवेदीले अस्पतालमा जोखिमका बावजुत पनि अत्यन्तै राम्रो र पारिवारीक स्वास्थ्य उपचार सेवा पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘‘ अस्पतालमा उपचारमा अत्यन्तै राम्रो सेवा पाएँ, डाक्टर र स्वास्थ्यकर्मी नियमित रुपमा खटिनुभएको छ, कोरोनालाई लुकाएर घरमा नबस्न र विरामी भएमा उपचार गराउन सुझाब दिन्छु’’–सुवेदीले भन्नुभयो । सुवेदीले अस्पतालको सेवाप्रति खुसी व्यक्त गर्दै थप व्यवस्थापनका लागि वडा अध्यक्ष जिवनकुमार मल्ललाई नगद रु ५ हजार सहयोग समेत हस्तान्तरण गर्नुभएको थियो ।

यसैबिच रघुगंगाको कोभिड अस्पतालमा उपचाररत विरामीहरु र उनका कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरेपछि संक्रमितका घरपरिवारलाई सहज भएको छ । वडा कार्यालय, स्थानीय युवा क्लब, आमा समूह र सामाजिक संघ संस्थाको समन्वयमा निःशुल्क भोजनालय सञ्चालन गरिएको छ । विभिन्न क्षेत्रबाट सहयोग जुटाएर स्वयमसेवकहरु परिचालन गरी विहानदेखि बेलुकी सम्म नै विरामीको लागि खाना संगै तातोपानी, बेसारपानी, सुप लगायतका विरामीलाई आबश्यक पर्ने खानेकुराहरुको निःशुल्क उपलब्धता गराउन थालिएको वडा अध्यक्ष जिवनकुमार मल्लले जानकारी दिनुभयो ।


‘‘ अस्पतालमा विरामीहरुको संख्या बढ्दै गएको छ, उपचारको लागि विरामी ल्याएर आएका आफन्तलाई विरामीको लागि खानाको बन्दोबस्त मिलाउन कठिन हुन थालेपछि निःशुल्क भोजनालयको अवधारणा अनूसार सेवा सुरु गरेका छौँ’’–अध्यक्ष मल्लले भन्नुभयो । अभियानमा विभिन्न सहयोगदाताहरुले आर्थिक सहयाग समेत गर्न सुरु गरेका छन् । वडा कार्यालय संगै, स्थानीय नव सन्तोष सेवा युवा क्लब , नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा, सिवाईजी क्लब लगायत स्थानीय आमा समूहहरुको सक्रियतामा निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको जनाईएको छ ।