रघुगंगाको कोभिड अस्पतालका विरामीलाई निःशुल्क खानाको व्यवस्था (भिडियाे सहित)

  • ३ जेष्ठ २०७८, सोमबार
  • 1450 पटक पढिएको

 

म्याग्दी ३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा उपचाररत विरामीहरुलाई निःशुल्क खानाको व्यवस्था गरिएको छ । रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुको लागि स्थानीय युवा क्लब, आमा समूह र सामाजिक संघ संस्थाको समन्वयमा निःशुल्क भोजनालय सञ्चालन गरिएको वडा अध्यक्ष जिवनकुमार मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सोमबारदेखि अस्पतालको नजीकै रहेको मन्दिर परिसरमा भोजनालय सञ्चालन गरिएको छ । स्वयमसेवकहरु परिचालन भएर विहानदेखि बेलुकी सम्म नै विरामीको लागि खाना संगै तातोपानी, बेसारपानी, सुप लगायतका विरामीलाई आबश्यक पर्ने खानेकुराहरुको निःशुल्क उपलब्धता गराउन थालिएको छ ।
‘‘ अस्पतालमा विरामीहरुको संख्या बढ्दै गएको छ, उपचारको लागि विरामी ल्याएर आएका आफन्तलाई विरामीको लागि खानाको बन्दोबस्त मिलाउन कठिन हुन थालेपछि निःशुल्क भोजनालयको अवधारणा अनूसार सेवा सुरु गरेका छौँ’’–अध्यक्ष मल्लले भन्नुभयो ।

अभियानमा विभिन्न सहयोगदाताहरुले आर्थिक सहयाग समेत गर्न सुरु गरेका छन् । वडा कार्यालय संगै, स्थानीय नव सन्तोष सेवा युवा क्लब , नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा, सिवाईजी क्लब लगायत स्थानीय आमा समूहहरुको सक्रियतामा निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको जनाईएको छ । काेभिड अस्पतालमा हाल ९ जना भर्ना भएर उपचार गराइरहेका छन् ।