म्याग्दीमा कोरोना संक्रमणदर उच्च, ८ सय बढी रिपोर्ट आउन बाँकी

  • ३१ बैशाख २०७८, शुक्रबार
  • कमल खत्री
  • 1489 पटक पढिएको

कमल खत्री
म्याग्दी ३१ वैशाख । म्याग्दीमा कोरोना संक्रमणको दर उच्च देखिएको छ । जिल्लामा कोरोनाको दोस्रो लहरको संक्रमण वैशाख महिनायता मात्रै देखिन थालेको हो । वैशाख महिनामा जिल्लाबाट नमुना संकलन गरि कोरोना परिक्षण गरिएको तथ्यांक अनुसार कोरोना परिक्षण गराएकाहरुमध्ये ७० प्रतिशतको हाराहारीमा संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

                               बेनी नगरपालिका–२ बगरफाँटमा स्वाब संकलन गरिँदै

वैशाख महिनामा पिसीआर परिक्षणको लागि स्वाब दिएकाहरुमध्ये विहीवार सम्म ३९६ जनाको रिपोर्ट आएको र त्यसमध्ये २४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लामा कुल १ हजार २६२ जनाको पिसीआर परिक्षणको लागि स्बाब संकलन गरि पठाईएकोमा अझै ८६६ जनाको रिपोर्ट आउन बाँकी छ ।

जिल्लामा कुल २९५ जनामा एन्टिजिनबाट कोरोना परिक्षण गरिएकोमा ८७ जनामा पोजेटिभ देखिएको छ । वैशाख महिनामा जिल्लामा नमुना संकलन गरिएकामध्ये पिसीआर र एन्जिटिन परिक्षण मार्फत ३ सय ३५ जनामा कोरोना पुष्टि भैसकेको छ । म्याग्दीमा कोरोना संक्रमण पुष्टि भएर वैशाख महिनामा मात्रै ८ जनाको ज्यान गैसकेको छ भने अहिले जिल्लामा १९४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला बाहिर कोरोना संक्रमण पुष्टि भएर समेत केहिको उपचारकै क्रममा ज्यान गएको छ । म्याग्दीमा कोरोनाको संक्रमणदर गण्डकी प्रदेशमै उच्च देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । ‘‘ गण्डकीमा अन्य जिल्लाहरुको तुलनामा म्याग्दीमा संक्रमणदर धेरै देखिएको छ, संक्रमितको संख्या भन्दा पनि संक्रमणको दरले समुदाय स्तरमा यसको संक्रमणको अबस्था गम्भिर रहेको देखाएको छ, ७० प्रतिशतको हाराहारीमा पोजेटिभ देखिनुु अत्यन्तै जोखिमपूर्ण अबस्था हो’’– लम्सालले भन्नुभयो ।

म्याग्दीमा वैशाख महिनामा परेका विवाह, ब्रतबन्ध, चौरासी पुजा लगायतका कार्यहरुमा भएको भिडभाडबाट समुदाय स्तरमा कोरोना फैलिएको हो । शहरी क्षेत्रसंगै ग्रामिण भेगमा समेत कोरोनाको संक्रमण देखिएपछि बेनी नगरपालिका र ५ वटै गाउँपालिकाले लक्षण देखिएका र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन गर्न थालेका छन् ।

समुदाय स्तरमै पुगेर संक्रमितको पहिचान गर्न अभियान चलाएको छ । ‘‘ कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ, ठाउँ ठाउँमा कोरोनाका लक्षण भएका विरामीहरु देखिन थालेका छन्, थप फैलन नदिनका लागि संक्रमितहरुको पहिचान गर्नका लागि तालिका नै बनाएर स्बाब संकलन कार्य अघि बढाएका छौँ’’–बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भन्नुभयो । म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन)को समय १० दिन थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बिहीवार बसेको बैठकले जिल्लामा वैशाख ३१ गतेसम्म जारी गरिएको निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमणको दर बढेको कारण संक्रमणलाई थप फैलन नदिन र नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाको समयलाई थप गर्दै कडाई गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, वैशाख ३१ गते राती १२ बजेदेखि जेठ १० गते राती १२ बजेसम्मका लागि दोस्रो चरणमा थप भएको निषेधाज्ञालाई कडाई समेत गरिने भएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l