बेनी नगर प्रमुख श्रेष्ठद्धारा दुई निजि गाडी एम्बुलेन्सको रुपमा परिचालन

  • ३० बैशाख २०७८, बिहीबार
  • 1410 पटक पढिएको

म्याग्दी ३० वैशाख । म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले आफ्ना नीजि दुई बोलेरो जिप कोरोना संक्रमितलाई बोक्न एम्बुलेन्स बनाउन नगरपालिका लाई हस्तान्तरण गर्नुभएको छ । नगरक्षेत्रमा बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई अस्पताल सम्म लैजानको लागि यातायातको असुविधा नहोस भन्ने उदेश्यले नगरप्रमुख श्रेष्ठले परिचालन गर्न लाग्नुभएको दुई निजि गाडीको चावी प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीलाई हस्तान्तरण गर्नुभएको छ ।

नगरक्षेत्र भित्र रहेका कोरोना संक्रमितलाई अस्पताल सम्म ल्याउन सवारि साधनको अभाव नहोस भनेर दुईवटा निजि गाडि नगरपालिकालाई हस्तान्तरण गरेको प्रमुख श्रेष्ठले बताउनुभयो । कोरोनाको जोखिम रहेसम्मको अवधिलाई निशुल्क रुपमा गाडी दिएको उहाँले बताउनुभयो । एउटा गाडी चालक सहित र अर्कोमा नगरपालिकाले चालकको व्यवस्था गरेर कोरोना संक्रमितलाई बोक्न परिचालन हुने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नगर प्रमुखले हस्तान्तरण गर्नुभएको गाडिलाई २४ सै घण्टा तयारि अवस्थामा राखिने बताउनु भयो ।

अहिले नगरपालिकाले एउटा गाडी भाडा लिएर सेवा दिइरहेको छ । नगरक्षेत्र भित्र कोरोना संक्रमितहरु बढ्दै गएकाले सवारीसाधनको आवश्यकता महशुष भएको र नगरप्रमुखले उपलब्ध गराउनुभएको गाडीले कोरोना संक्रमितका विरामीहरुलाई बोक्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । म्याग्दीमा यस अघि रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले समेत आफ्नो निजी स्कार्पियो जिप कोरोना संक्रमित बोक्ने लगायतको स्वासथ्य सेवाका लागि एम्बुलेन्सको रुपमा परिचालन गर्नुभएको छ ।