म्याग्दीमा निषेधाज्ञाको समय जेठ १० गतेसम्म थपियो, थप कडाई गरिने (भिडियाे सहित)

  • ३० बैशाख २०७८, बिहीबार
  • 1506 पटक पढिएको

बेनी, ३० वैशाख । म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन)को समय १० दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बिहीवार बसेको बैठकले जिल्लामा वैशाख ३१ गतेसम्म जारी गरिएको निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म गर्ने निर्णय गरेको हो ।


जिल्लामा कोरोना संक्रमणको दर बढेको कारण संक्रमणलाई थप फैलन नदिन र नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाको समयलाई थप गर्दै कडाई गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, वैशाख ३१ गते राती १२ बजेदेखि जेठ १० गते राती १२ बजेसम्मका लागि दोस्रो चरणमा थप भएको निषेधाज्ञालाई कडाई समेत गरिने भएको छ ।

 

पहिलो चरणको निषेधाज्ञामा निश्चित समयका लागि खोल्न दिईएका अत्याबश्यके बाहेकका पसलहरु समेत खोल्न रोक लगाईने भएको छ । बैँकहरुमा अत्याबश्यक सरकारी कारोवार र स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्रै कारोवार गर्न सक्ने गरि सुचारु हुने र अन्य सबै सेवा बन्द गरिने भएको छ ।
विरामी बोक्ने बाहेकको अन्य कार्यमा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाउने, पूर्व निर्धारित विवाहमा घरपरिवार मात्रै सहभागी हुन पाउने, मृत्यु संस्कारका कार्यहरुमा जनस्वास्थ्यका मापदण्डको पालना गरि न्युनतम मानिसहरु मात्रै सहभागी भएर सम्पन्न गर्न आग्रह गर्ने निर्णय गरिएको छ ।

जिल्लामा गत वैशाख २२ गतेदेखि बेनी नगरपालिकामा, २६ गतेदेखि मंगला गाउँपालिकामा र २७ गतेदेखि अन्नपूर्ण गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको थियो भने आन्तरिक रुपमा आवत जावतमा रोक लगाएका मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकाले समेत लकडाउनको लागि सिफारिस गरेपछि वैशाख २८ गतेदेखि जिल्लाका सबै स्थानीय तहमा लकडाउन गरिएको थियो । लकडाउन अवधिमा अत्याबश्यक बाहेकको यातायात, बजार, होटल, लगायतका क्षेत्र बन्द भएका छन् । निषेधाज्ञा अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ ।