ओडारमा मृत अबस्थामा फेला परेका देविस्थानका धजेन्द्रको हत्या भएको रहस्य खुल्यो
- २८ बैशाख २०७८, मंगलवार
- 16866 पटक पढिएको
म्याग्दी २८ वैशाख । हराएको १२ दिनपछि ओडारमा शव फेला परेका म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका धजेन्द्र पुनको हत्या भएको रहस्य खुलेको छ । २०७८ वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्रको वैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथानस्थित ओडारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पोखराबाट पक्राउ परेका धजेन्द्रको हत्या आरोपी पाँच र देविस्थानकै बलात्कार घटनामा संलग्न एकजनालाई मंगलबार बेनीमा सार्वजनिक गरेको छ । देविस्थान घर भई हाल पोखरा बस्ने २१ वर्षीय भेषबहादुर विक र रामबहादुर परियारले अन्य तीनजनाको सहयोगमा धजेन्द्रको हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताउनुभयो ।
वैशाख १४ गते भेषबहादुरका दाजुको विवाहमा निम्तो मान्न गएका धजेन्द्रको हत्यामा संलग्न अन्य तीनजना १८ वर्षभन्दा कम उमेरको देखिएकाले नाम सार्वजनिक नगरिएको प्रनाउ राइले जानकारी दिनुभयो । पाँचजनाले कुटपिट गर्ने क्रममा ज्यान गएपछि भेषबहादुरको घर नजिकैको जंगलको ओडारमा लगेर शव लुकाएका थिए ।
भेषबहादुर र धजेन्द्रको पुरानो रिसिइवी भएको बुझिएको छ । कुटपिट गर्ने क्रममा धजेन्द्रको मृत्यु भएपछि ओडारमा शव लुकाएर चार जना पोखरा गएका थिए । एक जना गाउँबाटै पक्राउ परेका हुन् । टाउको र कुम देखिएको अवस्थामा शव भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
धजेन्द्रसँगै वैशाख १४ गतेबाट सम्पर्कविहीन भएका अभियुक्तले घटनास्थलमा छाडेको मोवाइल सेट, घाँटी अठ्याउन प्रयोग भएको चार्जरको कनेन्टर तार र उनीहरुको पुरानो सम्बन्धलाई आधार मानेर प्रहरीले अनुसन्धान गरेको थियो । मृतक र उनका बुवासँग भेषबहादुरको पुरानो रिसिइबी थियो । शब भेटिए लगत्तै मृतकका दाजु तिलक पुनले प्रहरीमा जाहेरी दिएका थिए ।
देविस्थानमै वैशाख १४ गतेनै ११ वर्षीया बालिका बलात्कार गरी फरार भएका सोही ठाउँका २१ वर्षीय विजय विकलाई पनि हत्याका आरोपीसँगै प्रहरीले सार्वजनिक गरेको छ । ती बालिका पनि हत्या आरोपी भेषबहादुरका दाजुको विवाहमा गएको अवस्थामा विजयले एक सय रुपैयाँ दिएर बलात्कार गरेको पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ ।
विवाहस्थल नजिकै बालिका बलात्कार गरेका थिए । इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोलीले हत्या र बलात्कारका आरोपीलाई पोखराबाट पक्राउ गरेको थियो । अपराध संहिता अनुसार १० देखि १४ वर्ष उमेरकी बालिका बलात्कार गर्नेलाई १८ देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । हत्यामा संलग्नलाई जन्मकैदको सजाय हुने कानुनी व्यवस्था छ । उनीहरु छजनालाई सोमबार नै म्याग्दी जिल्ला अदालतमा पेश गरेर थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन थप भएको छ ।
दु:खद घटना, हत्यारा र बलत्कारि हरुलाई कडा भन्दा कडा सजाय हुनु पर्छ ।