म्याग्दी जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा

  • २८ बैशाख २०७८, मंगलवार
  • 1033 पटक पढिएको

बेनी, २८ वैशाख । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न म्याग्दीका सबै स्थानीय तहमा निषेधाज्ञा (लकडाउन) गरिएको छ । स्थानीय तहहरुको सिफारिसमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी र जिल्ला सुरक्षा समितिको निर्णयका समेतका आधारमा जिल्लामा रहेका एक नगरपालिका र पाँच गाउँपालिका सहित ६ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

जिल्लामा गत वैशाख २२ गतेदेखि बेनी नगरपालिकामा, २६ गतेदेखि मंगला गाउँपालिकामा र २७ गतेदेखि अन्नपूर्ण गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको थियो । आन्तरिक रुपमा आवत जावतमा रोक लगाएका मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकाले समेत लकडाउनको लागि सिफारिस गरेपछि मंगलवार डिसीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकले वैशाख ३१ गतेसम्मलाई जिल्लाका सबै स्थानीय तहमा लकडाउन गर्ने निर्णय गरेको जनाईएको छ ।


लकडाउन अवधिमा अत्याबश्यक बाहेकको यातायात, बजार, होटल, लगायतका क्षेत्र बन्द हुने भएका छन् । निषेधाज्ञा अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, तोकिएको समयमा खाद्य बस्तु खरिद गर्ने लगायतका अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ ।

उक्त समयमा तरकारी, फलफुल, दुध, डेरीजन्य उत्पादन, लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विहान ७ देखि १० बजेसम्म निश्चित अवधिमा मात्रै सञ्चालन गर्न पाउने जनाईएको छ । निषेधाज्ञाको समयमा धार्मिक स्थलहरुमा पुजाआजा गर्ने, कुनैपनि जमघटन तथा भेला हुने गतिविधि सञ्चालन गर्न रोक लगाईएको छ । विवाह गर्दा जनस्वास्थ्यका मापदण्डको पालना गरि एक पक्षबाट ७ जना मात्रै सहभागी हुने, बैँक तथा वित्तिय संस्था न्युनमत कर्मचारी उपस्थित भएर सञ्चालन गर्ने र सहकारी तथा विमा संस्ूथाहरु बन्द गरिने जनाईएको छ । म्याग्दीमा कुल ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ सय जना निको भएर हाल २३३ जना सक्रिय संक्रमित रहेका छन भने १२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।