रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन (भिडियाे )

  • २८ बैशाख २०७८, मंगलवार
  • कमल खत्री
  • 1267 पटक पढिएको

म्याग्दी २८ वैशाख । बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई आवत जावतमा यातायातको असुविधा भैरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्षले आफ्नो निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी स्कार्पियो जिप कोरोना महामारीको समयमा विरामी बोक्ने लगायतको स्वास्थ्य सेवाको लागि परिचालन गर्नुभएको हो ।

 

गाउँपालिका अध्यक्ष भण्डारीले विरामीलाई स्वास्थ्य संस्थामा लैजाने, स्वाबलाई परिक्षणको लागि बागलुङ र पोखरा सम्म पु¥याउन र आबश्यकता अनुसार स्वास्थ्य सेवाको अन्य क्षेत्रमा समेत परिचालन गर्ने गरि स्कार्पियोको चापी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकाभित्रका विरामीहरुलाई उपचारका लागि स्वास्थ्य संस्था र अस्पताल सम्म लैजाने–ल्याउने काम संगै स्वाबलाई परिक्षणको लागि लैजाने क्रममा जिल्लाका अन्य पालिकाहरुको लागि समेत उपयोगमा आउने गरि उक्त स्कार्पियोलाई एम्बुलेन्सको रुपमा परिचालन गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

‘‘कोरोना महामारीको समयमा एम्बुलेन्सकै रुपमा प्रयोग गर्ने गरि उहाँबाट चापी हस्तान्तरण भएको छ, अब हामी चालकको व्यवस्थापन गरि छिट्टै नै यसलाई प्रयोगमा ल्याउँछौँ’’– प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भन्नुभयो । विरामीहरुको चाप बढेको र अस्पताल जान आउनका लागि यातायातको अभाब रहेको गुनासो आउन थालेपछि गाउँपालिकाले थप एक जिपलाई भाडामा समेत लिएको छ ।

महामारीको समयमा विपन्न परिवारका नागरिकहरु उपचार गराउनबाट बञ्चित नहुन भन्ने उदेश्यले निशुल्क सेवा दिन गाउँपालिकाको आफ्नै एक वटा, अध्यक्ष भण्डारीले उपलब्ध गराएको एक वटा र भाडामा लिएका एक वडा गरि तीन वटा सवारी साधन व्यवस्थापन गरेको सुवेदीको भनाई छ ।

लकडाउनका कारण सार्वजनिक यातायात अत्याबश्यक बाहेक बन्द भएको र कोरोनाका लक्षण देखिएका विरामीहरुलाई अस्पताल सम्म लैजान र ल्याउन अन्य यातायात व्यवसायिहरुले आनाकानी गरेको गुनासो पछि गाउँपालिकाले स्वास्थ्य मापदण्डलाई पालना गरि सवारी साधनहरुको बन्दोबस्त मिलाएको जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l