बेनी नगरपालिकामा समुदाय स्तरमै पुगेर संक्रमितको खोजी गरिँदै (भिडियो)

  • २८ बैशाख २०७८, मंगलवार
  • 1145 पटक पढिएको

म्याग्दी २८ वैशाख । म्याग्दीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि बेनी नगरपालिकाले समुदाय स्तरमै पुगेर संक्रमितको पहिचान गर्न अभियान चलाएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिएपछि रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङमा परेका र कोरोनाको लक्षण देखिएका विरामीहरुको पिसीआर परिक्षणका लागि स्वाब संकलन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले वडा नम्बर २ मा ३० जना र वडा नम्बर ४ मा ६७ जनाको स्वाब संकलन गरि पिसीआर परिक्षणको लागि पठाईएको छ । ‘‘ कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ, ठाउँ ठाउँमा कोरोनाका लक्षण भएका विरामीहरु देखिन थालेका छन्, थप फैलन नदिनका लागि संक्रमितहरुको पहिचान गर्नका लागि तालिका नै बनाएर स्बाब संकलन कार्य अघि बढाएका छौँ’’– अधिकृत सुवेदीले भन्नुभयो ।

बेनी नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रण संगै संक्रमितको उपचारको लागि समेत आबश्यक पूर्वाधार निर्माण थालेको छ । बेनी अस्पताल परिसरमा २० वेड क्षमताको कोभिड अस्पताल स्थापनाका लागि निर्माणधिन अस्पताल भवनमा आबश्यक पूर्वाधारको बन्दोबस्तको काम भैरहेको नगरपालिकाले जनाएको छ । त्यसैगरि बेनीको माउण्ट एभरेष्टमा रहेको २० वेड क्षमताको प्रि आईसोलेसन कक्षलाई समेत ५० बेडमा रुपान्तरण गर्ने काम अघि बढेको छ ।

कोरोनाको जोखिम थप भयाबह नहोस भन्ने उदेश्यले नगरपालिकाले परिक्षण र उपचारको व्यवस्थापन संगै वडा स्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, स्वयमसेवक, युवा क्लब र आमा समूहहरु मार्फत समेत सचेतनाका कार्यक्रम अघि बढाएको नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँले बजार क्षेत्रमा लक्षण देखिएका विरामीहरुले परिक्षण गर्न नगएको गुनासो आएपछि बजारमा माईकिङ मार्फत जनचेतना जगाउने काम गरिएको र स्वास्थ्यकर्मी समेतको टोली परिचालन संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको समेत अबस्था बुझ्ने काम अघि बढएको जानकारी दिनुभयो ।

म्याग्दीमा संक्रिय कोरोना संक्रमितको संख्या २२८ पुगेको छ । कोरोनाको दोस्रो लहर संगै कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारि तथ्यांक अनुसार अहिले सम्म जिल्लामा १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । अहिले सम्म जिल्लामा जम्मा संक्रमित ५३७ पुगेको छ भने २९९ जनाले कोरोना जितेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

समुदायस्तरमा कोरोना फैलिएपछि बेनी नगरपालिकामा २२ गते देखि लकडाउन छ भने मंगला, अन्नपूर्ण र मालिकाले सोमबारबाट लकडाउन गरेका छन । धौलागिरी ले पनि अत्यावश्यक सेवा वाहेक सवै सेवाहरू बन्द गरेको छ । जिल्लाका स्थानीय तहहरुले कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि भिडभाड र जमघट नियन्त्रण संगै संकास्पद र लक्षण देखिएका व्यक्तिहरुको कोरोना परिक्षणको लागि स्वाब संकलनलाई अघि बढाएका छन् ।