अन्नपूर्ण गाउँपालिकामा लकडाउन लगाउन सिफारिस

  • २७ बैशाख २०७८, सोमबार
  • 753 पटक पढिएको

म्याग्दी २७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा फैलिउको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले २७ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरि ८ दिनका लागि लकडाउन गर्ने निर्णय गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गरिएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रका बैँक तथा वित्तिय संस्था र सरोकारवाला संगको छलफल समेतका आधारमा कोरोनाको बढ्दो संक्रमणको चेनब्रेक गर्न अत्याबश्यक बाहेकको सेवा बन्द गरि लकडाउन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसल २४ सै घन्टा खुल्ला रहनेछन् । यसैगरी, बैठकले लकडाउनका समयमा अत्याबश्यक बाहेक सरकारी सेवा र यातायात संगै सरकारी बैंक तथा वित्तीय संस्थाहरु र शैक्षिक संस्था पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

बैठकले गाउँपालिका अध्यक्षले प्रयोग गर्ने गाडी ,भाडामा लिइएका गाडी समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गर्ने निर्णय गरेको छ भने यस अघि स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा जनशक्ति व्यवस्थापन गरेर पुनः संचालनमा ल्याउने निर्णय भएको छ । बैठकले कोभिड विरुद्ध लडिरहेका स्वास्थकर्मिहरुलाई जोखिम भत्ता समेत उपलब्ध गराउने निर्णय गरेको छ । विकास निर्माणका काम भने स्वास्थ सुरक्षा मापदण्ड अपनाएर जारी राखिने भएको छ ।