नेपाल खनाल पक्षका २२ सांसदले ओलीलाई विश्वासको मत नदिने

  • २७ बैशाख २०७८, सोमबार
  • 974 पटक पढिएको

काठमाण्डौ २७ वैशाख । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान भएको बैठकमा एमालेभित्रको अन्तर्विरोधका कारण नेपाल खनाल पक्षका साँसदहरु बैठकमा सहभागी नहुने भएका हुन् ।

एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने जानकारी दिए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता रावलले जानकारी दिए ।

‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ’ रावलले भने ।

पार्टीभित्रको विवाद हल नगरि ओली एकलौटी ढंगले अघि बढेको भन्दै नेपाल खनाल पक्षले ओलीलाई अल्टीमेटम सहित विवाद समाधान नगरेमा प्रतिनिधिसभा सदस्यबाट समेत राजीनामा गर्ने चेतावनी दिएका थिए । तर अन्तीम समयमा आएर ओलीलाई विश्वासको मत पनि नदिने र तत्काल प्रतिनिधि सभा सदस्य पदबाट समेत राजीनामा नदिने निर्णय गरेका छन् ।