मालिका गाउँपालिकामा वैशाख २६ देखि जेठ ६ सम्म लकडाउन

  • २६ बैशाख २०७८, आईतवार
  • 945 पटक पढिएको

म्याग्दी २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको छ । गाउँपालिकाले स्थानीय सरोकारवालाहरुसंगको छलफलपछी वैशाख २६ गते राति १२ बजेदेखि लागू हुने गरि जेठ ६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा ( लकडाउन ) गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर बढ्दै गएकोले त्यसको रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो । समुदाय स्तरमा थप कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकाले स्वाब संकलन अभियान संचालन सुरु गरेको समेत बताउनुभयो ।
लकडाउनमा गाउँपालिका कार्यालय र वडाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेभएका छन् । उक्त अवधिमा बैँक तथा वित्तिय संस्था, विद्यालय, बजार, होटल पूर्ण रुपमा बन्द हुने र अत्याबश्यक बाहेक यातायात लगायतका सेवा समेत बन्द हुने जनाईएको छ । छिमेकी स्थानीय तह र मालिकाकै एक वडाबाट अर्को वडामा हुने आवत जावतसंगै भिडभाज हुने कार्यहरुलाई पूर्ण रुपमा रोक लगाईएको गाउँपालिकाले जनाएको छ ।अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसल २४ सै घन्टा खुला रहनेछन् ।