रघुगंगामा सम्पर्क व्यक्तिको फोन नम्बर सार्वजनिक, आईसोलेसनको क्षमता विस्तार
- २४ बैशाख २०७८, शुक्रबार
- 1540 पटक पढिएको
म्याग्दी २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना भाइरसको बढ्दो संक्रमणको कारण आउन सक्ने समस्या समाधान र सहजीकरणको लागि आम नागरिकको सुविधाका लागि सम्पर्क व्यक्तिहरु तोकेर मोवाईल नम्बर समेत सार्वजनिक गरेको छ ।
गाउँपालिकामा कोरोनाका कारण आईपर्ने स्वास्थ्य समस्या, दैनिक उपभोग्य बस्तुको समस्या, नियमित औषधि सेवन गर्नेहरुको अभाब, अस्पताल पुग्नका लागि आईपर्न सक्ने यातायात लगायतका बाधा व्यवधान समाधानको लागि सम्पर्क व्यक्ति तोकेर मोवाईल नम्बर समेतको सूचना जारी गरिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
रघुगंगाले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पिप्लेमा रहेको कोभिड अस्पतालको ५ बेडको क्षमता विस्तार गरि १० वेड बनाएको छ । कोभिड अस्पताल नजीकै रहेको प्रगतिशिल आमा समूहको भवनलाई समेत उपयोग गरि आईसोलेसनको क्षमता विस्तार गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो । आईसोलेसनमा २० वटा अक्सिजन सिलिण्डर समेत रहेका छन् ।
यसैबिच वडा नम्बर २ भगवतीमा समेत घरमै आईसोलेसनमा बस्न सम्भव नभएका विरामीहरुको लागि थप ९ वेड क्षमताको आईसोलेसन वार्ड बनाउने काम अघि बढाईएको छ । रघुगंगामा हाल १२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।