कोरोनाको जोखिम बढेपछि धवलागिरि गाउँपालिकाको सेवा बन्द

  • २२ बैशाख २०७८, बुधबार
  • 1029 पटक पढिएको

म्याग्दी २२ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिकाको समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बुधवार गाउँपालिका अध्यक्ष थमसरा पुनद्धारा जारी गरिएको सूचनामा वैशाख २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका, वडा र सेवा केन्द्रहरु मार्फत प्रवाह हुने नियमित सेवाहरु बन्द गरिएको जनाइएको छ ।

यस अघि विद्यालयहरुमा भौतिक रुपमा उपस्थित भै पठनपाठन गराउने कार्य बन्द गरिएकोमा कोरोनाको जोखिम न्यूनिकरण नभएपछि थप कदम चालिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले आम नागरिकलाई मास्कको अनिवार्य प्रयोग, सावुन पानीले हात धुने र स्यानिटाइज गर्ने कार्यमा जोड दिन अनुरोध गरेको छ ।

गाउँपालिकाले नागरिकहरुलाई भिडभाड नगर्न, काजक्रिया, जन्ती मलामी तथा अन्य साँस्कृतिक कार्यहरुमा समेत भिड नगर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न, विदेशबाट र जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिहरुलाई १० दिन अनिवार्य होम क्वारेनटाइन बस्न र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य परिक्षण गराउन समेत सुझाईएको छ । बुधवार ताकममा गरिएको एन्टीजिन परिक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । गाउँपालिकाका अनुसार, धवलागिरिमा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४ जना बेनीमा छन भने अन्य आफ्नै घरमा होम आईसोलेसनमा बसेका छन् ।