एमाले लुम्बिनी प्रदेश सांसद डाँगीको राजीनामा स्वीकृत

  • २२ बैशाख २०७८, बुधबार
  • 982 पटक पढिएको

रूपन्देही २२ वैशाख । लुम्बिनी प्रदेशमा दाङ क्षेत्र नम्बर २ ख बाट निर्वाचित नेकपा एमालेका सांसद अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले डाँगीको राजीनामा स्वीकृत भएको बताए । माओवादीमा प्रवेश गरेको भनिएका डाँगी केही दिनयता सम्पर्कमा आएका थिएनन् । १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाइ बहुमतको बर्खिलाप, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक प्रणालीलाई नै तहसनहस पारेको, संविधान, विधि र प्रक्रियाको चीरहरण गरेको र मुलुकलाई अस्थिरतातर्फ धकेलेको उनले बताएका छन् । कतिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको सुरुवात भएको भन्दै उनले राजीनामा पत्रमा भनेका छन्, ‘उच्च रक्तचापको बिरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।’

डाँगीले कम्युनिष्ट आन्दोलन र बृहत् वाममोर्चाको पक्षमा रहने प्रतिबद्धता समेत जनाएका छन् ।
आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकारमा दाबी गरेपछि एमालेका सांसदहरुले विद्रोह गरेका थिए । एमालेकै प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका थिए भने तत्कालीन नेकपाबाट प्रदेशसभामा निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।

सूर्य चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही पनि नयाँ सरकार गठनको पक्षमा उभिएका थिए । तर श्रीवास्तव र शाही पोखरेलको पक्षमा फर्किएका थिए । श्रीवास्तव मन्त्री समेत भइसके । तर मुख्यमन्त्री पोखरेलको संकट टरेको छैन । डाँगीले राजीनामा दिएपछि एमालेसँग ३८ सांसद छन् । जबकि ७९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४० मत चाहिन्छ ।